सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसदले किन पाएनन् दसैँ खर्च ?

२०७८ असोज २०, ०२:०२ खबर संवाददाता

काठमाडौंः अर्थमन्त्रालयले बजेटसम्बन्धी निर्णय नगर्दा यस वर्ष संघीय संसदका सदस्यले दसैँ भत्ता नपाउने भएका छन्। ऐनअनुसार मासिकरूपमा पाउने सेवा सुविधा पाए पनि दसैँ भत्ता भने सांसदले नपाएको संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव डा.रोजनाथ पाण्डेले जानकारी दिए।

उनले भने, ‘२ वर्षअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेर दसैँ भत्ता उपलब्ध गराइएको थियो। गत वर्ष मन्त्रिपरिषद् बैठकले नै उपलब्ध गराउने निर्णय गरे पनि सबै सांसदले फिर्ता गर्नुभयो। यस वर्ष मन्त्रिपरिषद् बैठकले पनि निर्णय गरेन र अर्थमन्त्रालयले पनि उपलब्ध गराएन।’ दसैँ भत्ता नगए पनि असोजको मासिक तलब र सेवा सुविधा भने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले प्राप्त गरेका छन्। असोजको मासिक तलब २ करोड ७ लाख ५९ हजार र सांसदका पीएका लागि १ करोड ८२ हजार उपलब्ध गराइसकिएको संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए।

उनका अनुसार सरकारले चालु आर्थिक वर्षदेखि वृद्धि भएको नयाँ तलबमान अनुसार नै सांसदलाई मासिक तलब उपलब्ध गराइएको हो। बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदले मासिक ६६ हजार ७० रूपैयाँ पाउँदै आएका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ जना सांसद छन् भने राष्ट्रियसभामा ५९ जना सदस्य रहेका छन्।

कमेन्ट लोड गर्नुस