अङ्ग्रेज फौजसँग लड्दाको अमरगढी किल्लाका हतियार बेपत्ता
सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ। शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो। किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ। ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ।’ त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन। नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरूले प्रयोग गरेको दर्जनौँ हतियार र पाँच वटा तोप गायब भएको वर्षौँ बित्दा पनि अझै भेटिएका छैनन्। नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको उक्त किल्लाबाट पुरातात्विक महत्वका हतियार हराएको तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएको छैन।
सेनाको प्रयोग र संरक्षणमा रहेको उक्त किल्ला सात वर्षयता नगरपालिकाले स्वामित्व लिए पनि हतियारको खोजबिन गरेको छैन। स्थानीयवासीका अनुसार पाँच तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए। बडाकाजी अमरसिंह थापाले विसं १८४७ मा स्थापना गरेको सो किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता रहेको र त्यसैकारण किल्लाको महत्व समेत घटेको स्थानीयवासीको अरोप छ। नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरू बताउँछन् । उक्त किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवन्त किल्लाको रूपमा रहेको पुरातत्व विभागको जिकिर छ। डडेलधुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालागायत ऐतिहासिक हतियार र सैनिक पोशाक अहिले नहुँदा किल्लाको महत्वसमेत घटेको स्थानीयवासी बताउँछन्। नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानिएको थियो। युद्धमा प्रयोग भएका बन्दुक तथा घरेलु हातहतियारलगायत रहेका कारण त्यसबेलादेखि प्रत्येक वर्ष दशैँको फूलपातीका दिनमा किल्लामा रहेका सैनिक तोप लगेर टँुडिखेलमा पट्काउने गर्दै आएको स्थानीयवासी ८२ वर्षीय करी दमाइको अनुभव छ।
उनका अनुसार त्यसबेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लिएर गएको हुनसक्छ। त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार ल्याएनन्। त्यसबेला किल्लामा आफँै पड्किने भीमसेन नाल बन्दुक रहेको र त्यसलाई प्रत्येक वर्ष दशँैको बेलामा कपडाको खोलले ढाक्ने गरिएको थियो। किल्लामा त्यसबेला पाँच वटा तोप, दर्जनौँ घरेलु हतियार, १०० जति बन्दुक, किल्लाभित्रै बम, गोला, बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री पनिरहेको किल्ला छेउ बस्ने किरण श्रेष्ठ बताउनुहुन्छ। अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन्। विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना भएको अमरगढी नागरपालिकाले २०५६ सालमा अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका स्थापनापछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो। विसं २०५८मा तत्कालीन माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन उक्त किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो। विसं२०५८ देखि २०६६ सम्म किल्ला सेनाको मतहतमै थियो। स्थानीयवासीको पटक–पटकको प्रयासपछि विसं २०६६ पुसदेखि पुनः किल्लालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो। पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने विसं २०६९ देखि स्वीकृति दिइएको हो। रासस