सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका स्थानीय तह बालविवाहमुक्त गर्ने दिशामा

२०८३ असार १६, ०५:४८ खबर संवाददाता

दार्चुलाः दार्चुलाका सबै जसो स्थानीय तहले बालविवाहमुक्त स्थानीय तह बनाउने उद्देश्यसहित आगामी वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । 

यहाँका सात गाउँपालिका र दुई नगरपालिका गरेर नौ वटै स्थानीय तहले सामाजिक कुरीतिका रूपमा बालविवाहमुक्त स्थानीय तह घोषणा गर्नका लागि नीति तथा बजेट ल्याएका छन् । तीमध्ये मालिकार्जुन गाउँपालिकालाई बालविवाहमुक्त पहिलो स्थानीय तहका रूपमा घोषणा गरिएको छ । 

गाउँपालिकालाई गत चैत ३० गते बालविवाहमुक्त  घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए। उनले आगामी वर्ष पनि गाउँपालिकालाई बालविवाहमुक्त राखिने नीति ल्याइएको बताए।  

२० वर्ष उमेर नपुगी गरिने बिहेलाई नेपालको कानुनले बालविवाह मान्दै आएको छ । सामाजिक कुरीतिका रूपमा रहेको बालविवाहलाई जरैदेखि समाप्त पार्न स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रममा बालविवाहमुक्त स्थानीय तह बनाउने लक्ष्य लिएको शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतले जानकारी दिइन्।  

शैल्यशिखर नगरपालिकाले महिला, बालबालिका तथा फरक क्षमता भएकासँग सम्बन्धित चेतनामूलक प्रचारप्रसार तथा सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्ने नीति ल्याएको छ ।

यस्तै महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने, किशोरीको बहुआयामिक विकास, लैङ्गिकतामा आधारित हिंसा, प्रजनन स्वास्थ्य र बालअधिकार प्रवर्धन अन्तर्गत तालिमको व्यवस्था गर्ने र नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्न थप प्रोत्साहन र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको उनले बताइन्। 

मार्मा गाउँपालिकाले बालविवाह, सामाजिक कुरीति जातिगत छुवाछुत, छाउपडी प्रथा, दाइजो, बहुविवाह र अन्य सबै प्रकारका हिंसा न्यूनीकरण गर्ने प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने नीति पालिकाले लिएको गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले बताए। 

विद्यमान रूढिवादी परम्परा, महिनावारी स्वच्छता व्यवस्थापन, बालविवाह, बहुविवाह महिला हिंसा समाधान गर्न नीति तथा कार्यक्रम र बजेट ल्याएको दुहुँ गाउँपालिकाका उपाध्यक्ष शान्ति बमले जानकारी दिईन्। जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले बालबालिकासम्बन्धी सवालको सम्बोधनका लागि सबै स्थानीय तहले साझा पहल गर्नुपर्ने बताए।  बजेटमा बालबालिकाका मुद्दालाई प्राथमिकता दिनुपर्ने उनले बताए।  

दार्चुला जिल्ला बालसञ्जालका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश बालसञ्जालका सदस्य राजेश धामीले बालबालिकाले भोग्नु परेका समस्या समाधान तथा लागुपदार्थ दुव्र्यसनको नियन्त्रण तथा न्यूनीकरणका लागि सबै स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए।  

यहाँको मालिकार्जुन गाउँपालिकामा गरिएको सर्वेक्षणमा विवाह गरेका २२० महिला र १८३ पुरुषमध्ये १२६ जनाले बालविवाह गरेको पाइएको थियो । बालविवाहमा परेकामध्ये ५८.७८ प्रतिशतले मागी विवाह, १५.९ प्रतिशतले भागी विवाह र २५.४ प्रतिशतले प्रेम विवाह गरेको पाइएको थियो । -गाेरखापत्रबाट सम्पादित अंश 
 

कमेन्ट लोड गर्नुस