सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्जिनियरिङ्गको प्रवेश परीक्षामा फेल भएका लम्साल यसरी बने सफल व्यवसायी

२०७८ असोज १९, ०४:०३ खबर संवाददाता

धनगढी: व्यवसायी दिनेश लम्सालसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 
पछिल्लो समय व्यावसायिक गतिविधि कसरी अगाडि बढाई रहनुभएको छ ?
व्यवसाय कठिनाईकाबीच दौडिने चिज हो। विभिन्न कठिनाई मध्ये कोरोना पनि एउटा कठिनाई नै थियो। यसलाई चुनौतीको रुपमा लिएर अगाडि बढ्नुपर्छ, बढिरहेका छौँ। बिस्तारै कोरोनाको असर घटेसँगै यसका नकारात्मक असर पनि घटिरहेको महसुस गरिरहेका छौँ। यदि यहीँ तवरले अगाडि बढ्यो भने केही समयमा यो सामान्य बन्छ र व्यवसायले गति लिन्छ भन्नेमा ढुक्क छौं।

अघिल्लो पुस्ताको भूमिका तपाईंको जीवनमा कसरी सम्झनुहुन्छ ?
अभिभावकत्व भन्ने कुराले जीवनमा र व्यवसायमा ठुलो भूमिका खेल्दोरहेछ। अभिभावकले आफ्नो, दोस्रो, तेस्रो पुस्तालाई विश्वास गरेर व्यवसाय हस्तान्तरण गर्नुभनेको एकदम ठुलो कुरा रहेछ। म अनुरोध पनि गर्छु हरेक अग्रजलाई, तपाईको दोस्रो पुस्तालाई व्यावसायिक जिम्मेवारी दिएर उहाँका गतिविधि अनुगमन गरेर अगाडि बढाउनुस्। मेरो हकमा पनि बुवाले व्यावसायिक जिम्मेवारी दिएकोले र सँगै यो व्यवसायबारे भनेर सिकाएर विश्वास गरेर तथा  उत्प्रेरित गरेर म सफल छु भन्ने लाग्छ। उहाँको व्यवसाय अगाडि बढाउन सफल भए भन्ने लाग्छ।

पहिलोचोटी व्यावसायिक क्रियाकलाप गर्दाको सम्झनामा
बुवाले मेरो उमेर बढ्दै जाँदा जिम्मेवारी बढाउँदै जानुभयो। यसरी जिम्मेवारी बढाउँदै गएपछि आफुलाई पनि लाग्थ्यो, यसरी विश्वास गर्नु भएको छ, कसरी सबैभन्दा उत्कृष्ट प्रतिफल उहाँलाई दिने। मनमा यी कुरा खेल्न थालेपछि राम्रो गर्ने प्रयास रहने नै भयो। २०४९ मा जब म एसएलसी दिएर काठमाडौं पुल्चोक क्याम्पसमा इन्जिनियरिङ्गको प्रवेश परीक्षा दिन गए तर नाम निकाल्न सकिन। सुन्ने गरेको थिए जे कुरापनि राम्रैको लागि हुन्छ। यो घटनाबाट मैले बुझे पनि। प्रयास त मेरो इन्जिनियरिङ्गको लागि नै थियो। त्यो बेला स्ववियू लगायतको चक्कर लाउनुपर्ने, भनसुन गर्नुपर्ने जति सबै ठाउँमा गरे तर भएन। मेरो क्षमताले भ्याएन र म फर्किनुपर्यो। फर्केर कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए। त्यो चाहीँ मेरो राम्रोको लागि भएको रहेछ। 

अहिले सम्झिन्छु यदि इन्जिनियर नै भएको भए म कतै जागिर गरिरहेको हुन्थ्ये होला। तर माथिबाट नै तिम्रो क्षमता त्यसको लागि होइन यसको लागि हो भनेर भन्या जस्तो अहिले आएर लाग्छ। वाणिज्य शास्त्र पढ्ने आमाबुवालाई यतै सघाउने भन्ने मनसाय बनिसकेपछि व्यवसायमा प्रवेश गरेको भन्न मिल्छ। अहिले व्यवसाय चलिरहेको नै छ। 

बस्तुस्थिति केही फरक भइदिएको भए हुने आदि इत्यादि कुरा मान्छेलाई हुन्छ। तपाईंलाई चाहिँ कस्तो लाग्छ यो कुरा ?
बुवा जागिरको शिलशिलामा आउनु भएको हो कुनै व्यापारको पृष्ठभूमिबाट होइन। जागिर सकिएपछी अवकाशको जीवनमा के गर्ने त भन्ने भएपछि व्यवसाय सुरु गर्नु भएको हो।  उहाँको त्यो मेहनत देखेर नै म व्यवसायमा आएको हो। सबैभन्दा ठुलो कुरा त के भने अहिलेसम्मको दौरानमा व्यवसाय भनेको केहो भन्ने बुझे। फेरि व्यवसाय सिक्ने कुरा संगतले पनि प्रभाव पार्‍याे। 

मैले जीवनमा जहिल्यै पनि संगत ठुलो मान्छेको गरे, आफुभन्दा धेरै नै परिपक्व मान्छेसँग संगत गरे। उहाँहरुले जहिल्यै पनि यो कुरा यो हो, यो गर्नुपर्छ, यो यसरी गर्नुपर्छ भन्ने नै सिकाउनु भयो। यहीँ तवरले उत्प्रेरणा दियो। मैले पनि उहाँहरुले सिकाए अनुसार नै गर्दै गए र व्यवसाय चलाउन सफल भए। त्यसैले त्यस्तो एकदमै बस्तुस्थितिमा ठुलै फरकपन भएको भए हुन्थ्यो भन्ने लाग्दैन।

 

कमेन्ट लोड गर्नुस