पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा
काठमाडौँ: पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ।
सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो।
बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो।
पञ्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेलेपनि टोलीलाई जिताउन सकेनन्। यस्तै कप्तान केएल राहुलले ३९ रन जोडे भने एडिन मार्क्रम २० रन तथा साहरुख खान १६ रनमा आउट भए।
बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै देबदुत पडिकलले ४०, कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले २३ रन बनाए।
जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ। बैंगलोर तेस्रो स्थानमा छ । पञ्जाब १० अंकसहित पाँचौं स्थानमा छ।