के हो ‘नयाँ युवा नयाँ सोच ?’
धनगढी : नयाँ युवा नयाँ सोचका केन्द्रीय अध्यक्ष मुकुन्द दीप मडैसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
नयाँ युवा नयाँ सोच भनेर सुरु गर्नु भएको संस्था के हो ? यसले के–के गर्छ ?
हामीले परिवर्तित युवा परिवर्तित सोच र परिवर्तित राष्ट्र भन्ने मुल नाराका साथ विस २०७४ सालमा नयाँ युवा नयाँ सोच नेपाल भन्ने संस्था खोल्यौँ। यो संस्थाले मुख्यत ४ वटा क्षेत्रमा काम गर्दछ, शिक्षा, युवा, बालबालिका र महिला।
पछिल्लो समय देश संघीयतामा गइसकेको अवस्थामा स्थानीय, प्रदेश, र संघमा कसरी कानुन निर्माण हुन्छन् त त्यसको प्रक्रियाको बारेमा जानकारी हुने उदेश्यले उच्च मावि तहमा नमूना संसदीय बहस गराउँदै आइरहेका छौँ।
यसले युवाहरु तर्क क्षमताको विकास र तथ्यमा रहेर कुरा गर्ने परम्परा विकास हुन्छ भन्ने हो। त्यस्तै ‘तरबार भन्दा कमल ठुलो’ लगायतका परम्परागत वादविवाद भन्दा पनि नयाँ आधुनिक किसिमको बहस संसदीय नमूना बहस गरिरहँदा हुने गर्दछ। यसले मनगणन्ते कुरा भन्दा पनि तथ्य र वास्तविकतामा रहेर बहस गर्ने बानीको विकास हुन्छ। सँगै सत्यको पक्षमा बोल्ने अवाज बुलन्द पार्न पनि यस्ता बहसहरुले सिकाउँछ। हामी वातावरणको क्षेत्रमा पनि युवा भएको नाताले काम गरिरहेका छौँ। काम पनि केही फरक र परम्परागत शैलीभन्दा नयाँ तवरले गर्ने गरिरहेका छौँ।
कसरी संस्था खोल्ने सोचाइमा पुग्नुभयो ?
म १० कक्षामा पढ्थे त्यहीँ समय देखिनै मैले कानुन विषय पढ्नुपर्छ भने लागेको थियो। पछि मैले प्रविणता तह गोल्डेन गेट काठमाडौंबाट पास गरे। एउटा संस्था खोल्ने र पढ्ने क्रममा थियो। संस्था खोल्ने भन्ने त भयो तर के गर्ने भनेर सोच्दा आफू खेलाडी भएकोले फुटबल खेलकुद गर्ने भन्ने त आयो। त्यही क्रममा प्रविणतापछि कानुन संकायमा भर्ना भए र पढ्ने भए। कानुन पढ्दै गर्दा केही नयाँ साथीहरूसँग पनि भेट भयो। नमूना संसदीय बहस गर्ने कुरा भयो त्योबेला केही संस्थाहरुले संसदीय बहस भनेर गर्नुहुन्थ्यो। केहिले अहिले गर्दैनन् तर काठमाडौं भ्यालीभित्र मात्रै गर्नुहुन्थ्यो। तर हामीले काठमाडौंमा मात्रै किन त बाहिर किन नगर्ने त भनेर भ्याली बाहिर पनि नमुना संसदीय बहस गर्यौ।
म सुदूरपश्चिमबाट गएको मान्छे। यहाँको स्कुलको स्थिति र काठमाडौंको स्कुलको स्थिति एकदमै फरक छ। त्यहाँ गएपछी मलाई पढ्दै गर्दा सुरुका दिनहरुमा बोल्न थोरै अप्ठ्यारो लाग्नेगथ्र्याे। संस्था सुरु गरेपछि बिस्तारै सहज हुँदै गयो। समय व्यवस्थापनको कुरा पनि सिक्नुपर्ने भयो। मैले पढाईको समय बाहेक केही बचेको समय कसरी व्यवस्थित गर्ने भन्ने बुझेर खालि समयमा समाजिक संजालमा समय व्यतित गर्नुभन्दा समाजलाई फाइदा हुने काम गर्न सकिन्छ भन्ने उद्देशले नयाँ युवा नयाँ सोच नेपालका हरेक सदस्यसँग काम गर्ने गरेको छु।
फुटबल खेलकुदको आयोजना गर्ने तयारी छ भन्नुभएको थियो । कहाँ कसरी गर्दै हुनुहुन्छ ?
क्षेत्र विकास हुँदाको राजधानी डोटी दिपायलबाट हामी क्षेत्रिय खेल्दा तेस्रो स्थानमा हुन्थ्यौ। त्यतिबेला विभिन्न कपहरु हुन्थे। नगद पुरस्कार नभए पनि बोकाकप र जिन्सी पुरस्कार भए पनि खेलहरु हुन्थे। तर पछिल्लो समय बीचमा केही वर्ष फुटबल आयोजना भएन त्यसैले फुटबल आयोजना नभएपछी खेलाडी जन्मने कुरा भएन। यो कुरा देखिसकेपछि हामीले नियमित तरिकाले खेलकुद गर्ने सोच्यौं र बिगत ३ बर्ष देखि जिल्ला स्तरीय फुटबल गरिरहेका छौँ। यो वर्ष पनि अब असोज १९ गतेदेखि डोटी कप भनेर डोटीका खेलाडी सहभागी रहने गरी आयोजना गरिरहेका छौँ। भन,े मंसिर १ गतेदेखि तेस्रो शैलेश्वरीकप जहाँ प्रदेश भरीका सहभागिता पाउने किसिमले आयोजना गर्दैछौँ।
प्रतियोगिता आयोजना गरिरहँदा स्रोतसाधन चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ ?
कार्यक्रमको कुरा गरिरहँदा खासमा आर्थिक स्रोतको समस्या हुनेगर्छ। फुटबल आयोजना गरिरहँदा खर्च धेरै हुनेगर्छ। अहिले शैलेश्वरी कपमा १ लाख ५५ हजार प्रथम पुरस्कार रहने गरी तयारी गरिरहेका छौँ। खासमा स्थानीय तहहरुसँग समन्वय गरेर आयोजना गर्ने प्रयास गरिरहेका छौँ। हुन त एउटै पालिकाले पनि आयोजना गर्न सक्थ्यो तर खै हाम्रो प्रतिनिधिहरुलाई हामीले बुझाउन नसकेका हौं कि उहाँहरुले बुझ्न नै नचाहनु भएको हो।
खास महत्त्व दिएको महसुस हुँदैन तर पनि विभिन्न पालिकाहरुसँग थोरै–थोरै सहयोग मागेर र सांसद ज्यूहरु साथै अन्य क्षेत्रका व्यक्तिहरुबाट जसले जति सक्नु हुन्छ, सहयोग मागी रहेका छौँ। सहयोग मागेर नै आर्थिक स्रोतसाधन जुटाउने प्रयास रहन्छ।