सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्ध एयरको यात्रा असुरक्षित भएकै हो त ?

२०७८ असोज १२, ०४:४४

वीरेन्द्र भट्ट, धनगढी:  बुद्ध एयर नेपालको निजी विमानसेवा कम्पनीमध्ये सबैभन्दा लामो समय नेपाली आकाशमा उडान भर्ने नेपाली विमान कम्पनी हो। १९९७ अक्टोबरबाट व्यवसायिक रुपमा बुद्ध एयरले उडान भर्दै आएको छ। देशभित्र उडान भर्ने मध्येको सबैभन्दा ठूलो एयरलाइन्स पनि बुद्ध एयर नै हो। ‘सुरक्षित यात्राका लागि बुद्ध एयर’ भनेर कम्पनीले मुल नारा नै बनाएको छ। तर पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने बुद्ध एयरको यात्रा तय गरिएको नाराअनुसार देखिँदैन। अर्थात यात्रुहरुले असुरक्षित महसुस गर्न थालेका छन्। बुद्धमा यात्रा गर्न डराउनुपर्ने अवस्था सोमबार विराटनगर र शनिबार धनगढी अवतरण गर्ने भनेर उडान भरेका जहाजले देखाइसकेको छ। 

सुरक्षित यात्राका क्रममा विमानभित्र असुरक्षित महसुस गरेका यात्रुको अनुभवलाई अनुभूति गर्दा पनि बुद्धको यात्रा अब साच्चिकै असुरक्षित रहेको प्रष्ट हुन्छ। साथै अब बुद्धको यात्रा गर्ने वा नगर्ने भनेर यात्रुहरु ढुक्क हुने अवस्थामा देखिँदैनन्। शनिबार धनगढीका लागि उडेको बुद्धको जहाज पुनः काठमाण्डौँ फर्केर अवतरण गरेको थियो। धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर धनगढीमा अवतरण हुनै सकेन।

एक हप्ताको अवधिमा बुद्धको जहाजमा अचानक देखापरेका यस्ता समस्याबारे प्राविधिक रुपमा यात्रुलाई विश्वस्त पार्ने गरी ठोस जबाफ कम्पनीले अझै दिन सकेको छैन।  नेपाली आकाशमा बुद्धको यात्रा जति पुरानो छ बुद्धले भित्र्याएका विमानहरु पनि त्यतिकै पुराना छन्। शनिबार तथा सोमबार उडान भरेका ती १४ र २४ वर्ष पुराना जहाज बुद्धले आन्तरिक उडानको रुपमा दैनिक रुपमा भर्दै आएको छ। वर्षौ पुराना ती जहाज बुद्धले नयाँ जहाज भनेर नेपाल भित्र्याएको थियो। तर ती जहाज नयाँ नभएर विदेशमा प्रयोग भइसकेका ‘सेकेन्डह्याण्ड’ जहाज हुन्।

विराटनगरका लागि उडेको जहाजमा ल्याण्डिङ गियर(पाङ्ग्रा) मा समस्या देखिएको थियो। तर धनगढीका लागि उडेको जहाज भने के कति कारणले अवतरण हुन सकेन भन्ने विषयको अझै टुंगो लागेको छैन। पाइलटका लागि हवाईमार्गको पालना र रिपोर्टिङ महत्वपूर्ण विषय हो। हरेक रिपोर्टिङ प्वाइन्टमा पुगेपछि उसले एयर ट्राफिक कन्ट्रोल(एटीसी) लाई आवश्यक जानकारी गराउनुपर्ने हुन्छ। साथै, एटीसीले दिएको सम्पूर्ण निर्देशन अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ। पाइलटले आफ्नो हिसाबले विमान उडाउन पाउँदैन।

मौसमलगायत कुनै कारणवस निर्धारित मार्गमा विमान लैजान नसके पाइलटले तत्काल एटीसीलाई त्यसको जानकारी गराउनुपर्छ। एटीसीले पनि उडानको संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक जानकारी दिनुपर्छ। उसले पाइलटलाई दबाब दिन पाउँदैन। 

नेपालबाट बाहिरिने अन्तर्राष्ट्रिय उडानका विमानहरू महेन्द्रनगर, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, मेची र नुनिम हुँदै उड्छन् भने नेपाल भित्रिने विमान सिमरा र नुनिमको बाटो मात्र आउने व्यवस्था छ। हवाई मार्गमा पाइलटलाई विमान उडाउन एटीसीले सघाउँछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको हवाई मार्गका आधारमा एटीसीले पाइलटलाई गाइडको काम गर्छ।

विमान चालकको पहिलो गल्ती नै अन्तिम गल्ती हुन्छ। यो सर्वमान्य मान्यतालाई कतिपय पाइलटनले विमान उडानको क्रममा विमानमा अचानक देखिएको खराबीलाई मध्यनजर गरेर सुरक्षित अवतरण गर्न पनि सफल देखिएका छन्। विराटनगर र धनगढीका लागि उडेको विमान पनि ठूलो दुर्घटनाबाट जोगाउन विमान चालक नै सफल देखिए। विमान जति पुरानो हुँदै गयो विमान चालक जति नै सफल भएपनि अवतरण गर्न चुनौतिपूर्ण नै हुन्छ। 

बुद्धका जहाजमा गम्भीर समस्या देखिनुको मुख्य कारण भनेको ‘सेकेन्डह्याण्ड’ जहाज हुनु नै हो। सोमबार नै पोखरा उडान भरेको बुद्धको अर्को जहाज त झन् २४ वर्ष पुरानो छ। फ्रान्सको एयर ताहितीले प्रयोग गरेको सो जहाज भारतको एयर डेकनले प्रयोग गरिरहेको अवस्थामा बुद्धले सन् २०१० मा किनेर नेपाल ल्याएको थियो। त्यो जहाज सन् १९९७ मा पहिलो पटक उडेको थियो। वर्षौ पुराना यस्ता जहाजका कारण पनि समयसमयमा यस्ता समस्याहरु दोहोरिने गरेका छन्।

काठमाडौंबाट धनगढी भीएफआर उडान गरी जानुपरेमा १८ हजार ५ सय फिटमा उडान गरिन्छ। काठमाडौं विमानस्थलबाट १० देखि १८ किलोमिटरसम्म एरोडम कन्ट्रोल टावरले, १९ देखि ९० किलोमिटरसम्म एप्रोच कन्ट्रोल टावरले र त्यसपछि तुल्सीपुर नपुग्दासम्म एरिया कन्ट्रोल टावरले मार्गनिर्देशन गर्छ। तुल्सीपुर पुगेपछि नेपालगन्ज टावरले विमानलाई गाइड गर्छ। 

नेपालगन्जबाट टीकापुर पुगेपछि विमान धनगढी टावरको कन्ट्रोलमा हुन्छ। तर जहाज उडान पूर्व इन्जिनियरले जहाज ठीक भएको रिपोर्टिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपछि मात्र उक्त जहाजलाई उडानका लागि अनुमति दिइन्छ। पाइलटले उडान गर्नुभन्दा पहिले नै उडान योजना भर्नुपर्ने हुन्छ। विमान कुन रुटमा, कहिले, कसले उडाउने, कति अलिटच्युडमा जाने सबै विवरण उल्लेख गरिएको हुन्छ। त्यही योजनाअनुसार नै पाइलटले विमान उडाउनुपर्छ। 

विमान उडानका क्रममा देखिएका समस्या, कारण, समयमा अवतरण नहुँनु लगायत विषयमा सम्बन्धित हवाई कम्पनीले तुरुन्त प्राविधिक कारणसहित जानकरी गराउनुपर्ने हुन्छ। तर बुद्ध एयरले भने एक हप्तामै दुई दुई पटक विमानमा खराबी देखिँदा पनि खराबीको कारण अझै बाहिर ल्याउन सकेको छैन। 

कमेन्ट लोड गर्नुस