धनगढी उपमहानगरले खाल्टाखुल्टी पुर्न मुल्यांकनबिना नै इन्धनमा सक्यो साढे ९ लाख
वीरेन्द्र भट्ट, धनगढीः धनगढी उपमहानगरपालिकाले कार्यालका टिपर, डोजर र लोडर प्रयोग गरेर वडा नम्बर १ देखि १७ सम्मका विभिन्न सडकमा ग्राभेल विछ्याएको भन्दै इन्धन खर्चको नाममा पुरवार इन्टरप्राइजेजलाई ९ लाख २१ हजार ३ सय ३१ रुपैयाँ भुक्तानी गरेको छ। कुन–कुन वडामा के कति परिमाणमा ग्राभेल विछ्याएको हो सो ग्राभेलको रोयल्टी समेत राखेर स्वीकृत लम्बाई इस्टमेटका आधारमा इन्धन खर्च लेख्नुपर्नेमा मर्मत कार्यको मापनबिना नै उपमहानगरपालिकाले इन्धनको नाममा एकमुष्ट रकम खर्च गरेको महालेखा परीक्षकको पछछिल्लो प्रतिवेदनले देखाएको छ।
मर्मत कार्यको मापदन नगरेरै ४६२ टिप्पर ग्राभेल खाल्टाखुल्टी पुर्न प्रयोग गरेको भन्दै ४३ लाख ६१ हजार ८ सय ४४ रुपैयाँ खर्च गरेको छ। जुन खाल्टाखुल्टी पुरेको मापन मुल्यांकन नगरेरै गरिएको खर्च रकम हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की स्थानीय डम्बरी भट्टले धनगढीभित्रका सडकमा यात्रा गर्नै नसकिने अवस्था रहेको गुनासो गरिन्। ‘कतै सडक भत्काएर छोडिएको छ भने कतै वर्षौदेखि सडक मर्मत नहुँदा दुर्घनाको जोखिम बढेको छ,’ उनले भनिन्, ‘धनगढीको विकास र सडकको अवस्था हेर्दा जनप्रतिनिधि भएको म जस्ता नगरवासीले अनुभुति नै गर्न पाएका छैनौं।’
उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न सडकहरुमा खाल्टाखुल्टी पुर्ने र सडक मर्मत गर्ने काम सोझै कोटेशन मागेर वडास्तरीय सडकमा ठेकेदारमार्फत ५ लाखको लागतमा नबढ्ने गरी पटक–पटक सडक मर्मतको नाममा थप १८ लाख २५ हजार ३ सय ७६ रुपैयाँ खर्च गरिएको छ। तर लाखौं रकम खर्चेर मर्मत गरिएका सडकको अवस्थामा भने कुनै सुधार देखिएको छैन।
ठेकेदारले मात्र होइन उपमहानगरपालिकाले आफ्नै श्रम र साधन प्रयोग गरेर सडक मर्मत गरेको भन्दै नियमित रुपमा इन्धन र खाजा लगायत शिर्षकमा लाखौ रकम खर्च गरेर दोहोरो भुक्तानी गर्दै आएको समेत पाइएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले धनगढीवासीले विविध समस्याको सामना गर्नु परेको बताए। ‘म आउनुभन्दा अगाडि नै खाल्टाखुल्टी पुर्न मापन मुंल्याकनबिना इन्धनमा खर्च गरिएको रहेछ, यो विषयप्रति गम्भीर भएर त्यस्तो कार्य पुनः नदोहोरिने गरी प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने, ‘ऐन, कानुन र व्यवस्थाविपरीत गएर कतिपय कार्य गरिएकाले बेरुजु समेत बढ्दै गएको देखिन्छ।’
धनगढी उपमहानगरपालिकाले खाल्टाखुल्टी पुर्न र मर्मत गर्ने कार्यको लागत इष्टिमेट प्याकेज नबनाएरै विभिन्न श्रोतबाट एउटै कार्य गराउँदा दोहोरो भुक्तानी गर्दै आएको हो। स्वीकृत बजेटभित्र तोकिएको खर्च शिर्षकमा कानुनी प्रक्रिया पु¥याएर मात्र खर्च गर्नुपर्ने व्यवस्था छ। तर उपमहानगरपालिकाले भने अनियमित रुपमा जिल्ला प्रशासन कार्यालय कैलाली र वडा नम्बर १८ स्थित सीमा प्रहरी चौकीको नाममा गरी एक लाख ९२ हजार खर्च गरेको छ। यो असम्बन्धित शिर्षकमा गरिएको खर्च हो। तर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्दले भने ऐनविपरीत गरिएको रकम सम्बन्धितबाटै असुल गरिने बताउँछन्।
धनगढी उपमहानगरपालिकाले वार्षिक एक करोड भन्दा बढी रकम ग्राभेलमा मात्र खर्च गर्ने गरेको छ। तर यति ठुलो रकम ग्राभेलको नाममा खर्च गरिँदा पनि धनगढीका सडकको अवस्था भने यात्रा गर्नै नसकिने गरी भत्किन थालेका छन्।