सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बामपन्थी नेता अवस्थीको निधन

२०७८ असोज ९, ०२:३० खबर संवाददाता

धनगढीः बैतडीका बामपन्थी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको निधन भएको छ। जिल्लाको सुर्नया गाउँपालिका ६ मूलखटाली घर भएका बामपन्थी आन्दोलनका अग्रणी नेता पृथ्वीराज अवस्थीको आज निधन भएको हो। 

अवस्थी हाल कैलालीको गोदावरी नगरपालिका वडा नं १ गेटा बिजौरामा बस्दै आएका थिए। उनको शनिबार बिहान साढे १० बजे निधन भएको बताईएको छ। ८६ वर्षको उमेरमा उनको निधन भएको आफन्त पदमराज अवस्थीले जानकारी दिए। समाज परिवर्तनका लागि लामो समयदेखि संघर्ष गर्दै आएका अवस्थी केही बर्षदेखि अस्वस्थ रहेका थिए। बैतडीमा बामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ। यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पुर्याएको स्थानीयहरुको भनाई छ। 

२०४६ सालको परिवर्तन पछि एमालेबाट चुनाव समेत लडेका अवस्थी पराजित भएका थिए। प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपद्वीबाट विभूषित भएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाएका थिए। पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ। उनले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्व समेत गरेका थिए। 

अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र संघसंस्थाहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
 

कमेन्ट लोड गर्नुस