सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका रामबहादुरले जहाँ बास बस्नु थियो त्यहीँ हत्याकाण्ड घटाए

२०७८ असोज ८, ०६:५८ खबर संवाददाता

धनगढीः बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौंका ५६ वर्षीय व्यापारी कमलसिंह महराको हत्या आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गर्यो। महराको हत्यामा संलग्न रहेको आरोपमा सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र  रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो।

यसअघि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो। तर, त्यसमा अन्य ३ जनाको संलग्नता नदेखिएपछि उनीहरुलाई तत्कालको लागि छाडिएको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ। हत्या प्रकरणमा रामबहादुर मडैको प्रमुख भूमिका रहेको प्रहरीले बताएको छ। रामबहादुरले ९मृतक० महरालाई फलामे रडले हिर्काएर मारेको प्रहरीसमक्ष बयान समेत दिएका छन्। उनले प्रहरीसमक्ष सँगै बसेर रक्सी खाएको र आफूले नै रडले हानेको बयान दिएको प्रहरी प्रवक्ता ओझाले बताए। 

कसरी घट्यो घटना ? 

विगत ६ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका २६ वर्षीय रामबहादुर मडै नागरिकता बनाउन घर फर्किएका थिए। नागरिकता बनाउन घर फर्किएका उनी बुधबार जिल्ला सदरमुकाम तिर लागे। उनी घरबाट बिहान नागरिकता बनाउन भनि जिल्ला प्रशासन कार्यालय गएका थिए। नागरिकता बनाएर सोही दिन घर फर्किने क्रममा साँझ सन्सेरीमाडौंमा उनले १ किलो मासु किने। मासु किनेर उनले एक होटलमा पकाएर मासुसँगै रक्सी सेवन गरे। त्यसपछि उनी केही पर रामबहादुर महराको होटेलमा बास बस्न भनि गए। 

उनी होटेलमा पुग्दा त्यहाँ रक्सी सेवन गरिरहेका हरिशसिंह महरा, शंकरसिंह महरा  र कमलसिंह महरा (मृतक) हरुको विवाद भइरहेको थियो। विवाद उत्कर्षमा पुगेपछि मडैले फलामे रड (पाइप) ले कमलको टाउको र शरिरमा हिर्काएर फरार भएका थिए। फरार रहेका रामबहादुरलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। 

सुर्नया गाउँपालिका–४ को लेकडाँडा स्थायी घर भएका सन्सेरीमाडौंमा मासु पसल चलाउँदै गर्दै महरा बिहीबार मृत फेला परेका थिए। महराको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिएको थियो। अहिले उनको शव जिल्ला अस्पतालमा परीक्षण पश्चात आफन्तले बुझेका छन्।
 

कमेन्ट लोड गर्नुस