बैतडी व्यापारी हत्या प्रकरणः आरोपित चार जना सार्वजनिक
धनगढीः बैतडीको सुर्नया गाउँपालिका–४ का व्यापारी कमलसिंह महराको हत्याको आरोपमा पक्राउ गरिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले आज सार्वजनिक गरेको हो।
यसअघि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएकोमा अन्य तीनजनाको संलग्नता तत्काललाई नदेखिएकोले छाडिएको बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए। सार्वजनिक गरिएका चारैजनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
मृतक ५५ वर्षीय महराले सन्सेरीमाडौंमा मासु पसल चलाउँदै गर्दै आएका थिए। बिहीबार बिहान महरा मृत फेला परेका थिए। कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिएको थियो। राति सँगै रक्सी पिएको र विवाद पैदा भई झडप हुदा घटना घटेको बताईएको छ।