व्यापारी हत्या प्रकरणः सात जना पक्राउ, घटनाको मुख्य कारण मदिरा
बैतडीः बैतडीमा व्यापारी हत्याको आशंकामा प्रहरीले दुई व्यापारीसहित सातजनालाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए। कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट रहेकोले हत्याको आशंका गरिएको छ। घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएकाहरूको नाम भने सार्वजनिक गरेको छैन। महराको शव बिहान सन्सेरीमाडौंकै एक पसल अगाडि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
‘घटनास्थलको प्रकुति हेर्दा फलामको रड प्रहार गरी हत्या भएको देखिएको छ’ प्रहरी श्रोतले भन्यो, ‘सामूहिक रुपमा बुधबार बेलुका मदिरा सेवन गरेको र त्यसपछि विवाद उत्पन्न भएपछि उनको हत्या भएको देखिन्छ।’ घटना भएको ठाउँबाट कमलको घर सय दुई मिटरको दुरीमा मात्रै रहेको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।