सुदूर नेपाललाई विश्वसँग जोड्दै

छात्रवृत्तिमा डाक्टर पढाउने सुदूरपश्चिम सरकारको सपना अलपत्र

२०७८ असोज ७, ०७:०२ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन्। विद्यार्थीहरु एमबीबीएस, उच्च शिक्षा, प्राविधिकतर्फ डिप्लोमा तथा टि–एसएलसी, कर्मचारी र कर्मचारीको सन्ततिहरु छात्रवृत्ति पाउनबाट बन्चित भएका हुन्। 

सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि ५० लाख तथा उच्च शिक्षा अध्ययन, प्राविधिकतर्फ डिप्लोमा र टि–एसएलसी, कर्मचारी र कर्मचारीका सन्तानको अध्ययनका लागि ५०/५० हजार प्रति विद्यार्थी छात्रवृत्ति वितरण गर्दै आएको छ। तर गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले छात्रवृत्ति वितरण गरेन। 

नेकपा एकिकृत समाजवादीकी सुदूरपश्चिम प्रमुख सचेतक दुर्गा विकले कुन कारणले छात्रवृत्ति वितरण नगरेको भन्दै प्रश्न गरेकी छिन्। सुदूरपश्चिम सरकारले शिक्षामा १० प्रकृतिका छात्रवृत्ति वितरण गर्दै आएको छ। दलित, जनजाती, आदीवासी लगायतका विद्यार्थीका लागि पनि प्रदेशमा छात्रवृत्तिको सुविधा छ।

तर गत आर्थिक वर्षका कोरोना भाइरसको संक्रमणको त्रास र कार्यविधिमा समस्या भएको कारण देखाउदै प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना समेत सार्वजनिक नगरेको विकास मन्त्रालयका सूचना अधिकारी गोविन्द्र प्रसाद पोख्रेलले बताए। उनले कोरोनाको संक्रमणको त्रासले छात्रवृत्ति वितरण रोकिएको बताए। 

प्रदेश सरकारले एकिकृत छात्रवृत्ति निर्देशिका भने सच्याएको छ। संशोधन गरिएको निर्देशिका समेत पूर्णरुपमा सुधार नभएको देखिएको छ। प्रदेशको सामाजिक मन्त्रालयले ९ जना एमबीबीएस, एक सय ७६ जना उच्च शिक्षा, प्राविधिक डिप्लोमा र प्रि–डिप्लोमा तथा २० जना कर्मचारी र कर्मचारीका सन्तानहरुलाई छात्रवृत्तिबाट वञ्चिन गराएको हो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस