जनप्रतिनिधि सुविधामुखी बन्दा सवारी साधन खरीद देखि तलव–भत्ता बाड्नमै आर्थिक बर्ष जाने संकेत(भिडियो रिर्पोट)
स्थानीय तहका जनप्रतिनिधि सुविधामुखी बन्दा जनसरोकारका काम भने ओझेलमा परेका छन् । स्थानीयतहको प्राथमिकता नचिनेर सुविधाको पछि मात्र लाग्दा विकास निर्माण र जनसरोकारका कामहरु भने थन्किएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले आर्थिक बर्ष सकिन तीन महिना मात्रै बाँकी रहेका बेला विकास बजेट ७५ प्रतिशत भन्दा बढि खर्च गर्न बाँकी रहेको छ ।
जनप्रतिनिधि सुविधामुखी बन्दा चालु तर्फको बजेट भने कम पर्न थालेको छ ।
सवारी साधन, भत्ता, ईन्धन, सञ्चार खर्च र तालिम गोष्ठीमै स्थानीयतहको बजेट खर्च भएको छ ।
झण्डै ५१ करोड बजेट रहेको बेलौरी नगरपालिकाकाले चालु आर्थिक बर्ष सकिन तीन महिना मात्रै बाँकी रहेका बेला विकास बजेट ६ करोड मात्रै खर्च गरेको छ भने चालु तर्फको खर्च भने अनुमानित बजेटले नपुग्ने अवस्था पुगिसकेको नगरपालिकाका लेखापाल विर वहादुर ऐरले बताए ।
बेलौरी नगरपालिकाले १० वटा वडा अध्यक्षकालागि मोटरसाईकल सहित अन्य सवारी साधन खरिद गर्नकालागि ७१ लख खर्च गरेको छ ।
यस्तै यो आर्थिक बर्षको ९ महिनामा भत्तामा मात्रै ४७ लाख खर्च भएको छ । ईन्धनमा १२ लाख १४ हजार, तलवमा एक करोड, पोशाकमा ८ लाख ८५ हजार, अनुगमनमा १३ लाख र ५२ हजार भ्रमणका लागि खर्च गरेको छ ।
अहिले सम्म खर्च भएको २० करोड मध्ये अधिकासं बजेट जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाकै लागि खर्च भएको छ ।
झण्डै २ दशकपछि आएका जनप्रतिनिधिहरुले जनताको हितमा काम गर्लान र दुई दशक सम्म थन्किएको विकासका योजनाहरुले गति पाउला भन्ने आशा सर्वसाधरणको थियो ।
जनप्रतिनिधि आएर स्थानीयतहको बजेट साविकको भन्दा १० औँ गुणाले बढ्यो तर त्यो बजेट उत्पादनमुलक कार्यक्रम र विकास निर्माण भन्दा पनि तिनै जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा थप्नकालागि खर्च गरीएको छ ।
बेलौरी नगरपालिका जनप्रतिनिधिहरुले अहिले सम्म तलव लिएका छैनन्, प्रदेशको निर्णयलाई पर्खेर बसेका छन् ।
तर अन्य विविध शिर्षकमा भने जनप्रतिनिधिको खर्च निकै बढि छ ।
चैतमहिना सकिनै लाग्दा बेलौरी नगरपालिकाकाले विनियोजित ५१ करोड बजेटमा ६ करोडको मात्रै विकास गरेको छ भने १५ करोड अन्य प्रशासनिक खर्च र सेवा सुविधाकालागि खर्च गरिएको छ ।
६ करोड पनि आफन्त र पहुँचवालाकै विकास निर्माणका योजना कार्यान्वयनका लागि खर्च गरिएको नगरवासीले गुनासो गरेका छन् ।