सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्सेनि डुब्छ धनगढी, होलान् त खोलानालाका लालपुर्जा खारेज ?

फोटो: दिपक बम योगेन्द्र
फोटो: दिपक बम योगेन्द्र
२०७८ असोज २, ०२:१४ नारायण अवस्थी

धनगढीः दुई दशक अगाडिसम्म धनगढीमा एक÷दुई ठाउँमा मात्रै डुबान हुने गरेको थियो। तर, अहिले भने उपमहानगर क्षेत्रका खोलानाला अतिक्रमण गरिँदा धनगढी बजारमा पर्ने सबै वडामा डुबानको समस्या बढेको छ। 

विगतमा कैलालीकै मोहना नदीमा अत्याधिक बाढी आएमा मात्रै धनगढीमा केही क्षणको डुबान हुने गरेको थियो। तर,अहिले अवस्था फरक भएको नगरवासी बताउँछन्। विगतमा ९ सय ३१ विघा सार्वजनिक जग्गा विक्री गरेको धनगढी नगर विकास समितिले पानी बग्ने खोलानाला, नहर र कुलोका साथै पानी जम्ने तालसमेत विक्री गरेको गरेको थियो।  खोलानाला, नहर, कुलो र ताल क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता गरेको कारण बर्सातको पानीको निकास थुनिदा धनगढी डुबानमा पर्दै आएको देखिएको छ। जसको रोकथामका लागि पानीको बहाव भएको क्षेत्रमा पर्ने लालपुर्जा खारेज गर्न प्रक्रिया थाल्नुपर्ने  धनगढीको मिलन चोकका स्थानीय सुरेन्द्र भण्डारीले बताए।

‘२०४९ देखि भएको सार्वजनिक जग्गा, खोलानाला, ताल र नहर अतिक्रमणले क्षणभरको पानीले महिनौसम्म बस्ती तथा टोलहरु डुबानमा पर्न थालेकोे छ।’ उनले भने, ‘डुबानको समस्या हल गर्न विगतमा धनगढी नगर विकास समितिले खोलानाला नापेर दिएको लालपुर्जा खारेज गर्नुपर्छ।’ नगर विकासले बिक्री गरेको खोलानालाको जग्गामा घर लगायतका संरचना मात्रै बनेका छैनन्। लालपुर्जा प्राप्त गरेका व्यक्तिले जग्गाको किनबेच तथा जग्गाको हालसाविक गर्न कुनै समस्या नरहेको नापी कार्यालय कैलालीका निमित्त प्रमुख दिजैराज भट्टले बताए।

‘हामीले हालसाविक गर्न आएका सबैको काम गर्नुपर्ने हुन्छ। जग्गा कसले दिएको हो त्योसँग हाम्रो सरोकार हुँदैन।’ उनले भने, ‘नगर विकासले दिएको लालपुर्जाको विषयमा नापी तथा मालपोतले कुनै निर्णय गर्न सक्दैन। बरु नगर विकास या अदालतले गर्न सक्ला।’ नगर विकासले निर्णय गरेर वितरण गरेको जग्गाको सन्दर्भमा नापी तथा मालपोत कार्यालयले कुनै कारबाही गर्न नसकिने बताइएको छ। तर जुन कानुन र नियममा टेकेर जग्गा वितरण गरिएको छ सोही कानुन या विद्यमान अन्य कानुनको अधिनमा रहेर नगर विकास या अदालतले भने आवश्यक निर्णय गर्नसक्ने बताइएको छ। 

धनगढी उपमहानगरवासीले डुबानको दीर्घकालीन समाधान खोज्न आग्रह गर्दै आएका छन्।  असोजमा खोलानालाको अतिक्रमण हटाउने उद्घोष धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले खोलानाला क्षेत्रको लालपुर्जा खारेज गर्ने बताउँदै आएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस