धनगढी–अत्तरिया ६ लेन सडकमा अस्ताए ११ जना [नामसहित]
धनगढी : बिहीबार धनगढी आएका सशस्त्र प्रहरीमा कार्यरत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का राजबहादुर पाल र उनकै छिमेकी ३० वर्षीय टेकबहादुर बोहरालाई घर फर्किदा अवेर राति भइसकेको थियो।
धनगढी भएर अत्तरिया जाँदा रातिको समयमा ६ लेन सडकमा जथाभावी हुने पार्किङले जो कोहीलाई पनि सवारी साधन हाक्दा मुस्किल हुन्छ। सहिद गेट नजिकै चटकपुरस्थित प्रहरीको पोष्ट अगाडि बोहरा र पाल सवार मोटरसाइकल सडकमै पार्किङ गरिएको ट्रकसंग ठोक्कियो। गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा बोहराको मृत्यु भयो।
६ लेन सडकमा ज्यान गुमाएका बोहराका ठुला बुवा बमबहादुर बोहराले अव्यवस्थित पार्किङकै कारण दुर्घटना भएको बताए। बोहराले भने, ‘पार्किङकै कारण दुर्घटना भएको हो। सडकमै ट्रक, ट्याङकर, बसहरु पार्किङ गरिएका छन्।’
सडकमा हुने अव्यवस्थित पार्किङका कारण दुर्घटना भएको बताउदै घाइते पालकी श्रीमती राधिका पालले भनिन्, ‘सडकमा पार्किङ गरिएको रहेछ। ट्रक पार्किङ गरिएको थाहा भएन्। अव्यवस्थित पार्किङले सडक ज्यानमारा बन्दैछ।’
बिहीबार बोहराको मृत्यु भएसंगै निर्माण सुरु भएपछि धनगढी–अत्तरिया ६ लेन सडकमा मृत्यु हुनेको संख्या १० पुगेको छ। यसअघि विभिन्न समयमा भएका दुर्घटनामा ९ जनाले ज्यान गुमाइसकेका छन्। ०७४ मंसिर ५ गते धनगढी उपमहानगरपालिका १३ राजपुरमा धनगढीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ३३३९ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिदा कञ्चनपुर गुलरीयाका ३० वर्षीय सञ्जिव राजीको ज्यान गएको थियो।
०७४ को पुस २७ गते सेती–महाकाली ट्रक व्यवसायी समितिको कार्यालय अगाडि दुर्घटना भयो र धनगढी उप–महानगरपालिका ४ का भुपेन्द्र रावतको मृत्यु भयो। ०७५ साल वैशाख १६ गते बोराडाँडी आर्मी व्यारेक नजिक धनगढीबाट अत्तरिया जादै गरेको मोटरसाइकल दुर्घटना हुँदा धनगढी वडा नम्बर ४ का २७ वर्षीय अशोक पाण्डेको मृत्यु भएको थियो भने कात्तिक २ गते मोहनपुरमा मोटरसाइकल दुर्घटना हुँदा सागर चौधरीको मृत्यु भएको थियो।
०७६ वैशाखमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय टेकबहादुर बलायरको घटनास्थलमै मुत्यु भयो। ०७६ असारमा कैलालीको गेटामा जीप र अटो रिक्सा ठोक्किदा अटोमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का ५६ वर्षीय चनकलाल डगौराको मृत्यु भएको थियो।
०७६ असारमै धनगढीबाट अत्तरिया गइरहेको मोटरसाइकल र अत्तरियाबाट धनगढी आइरहेको मोटरसाइकल बोराडाँडीस्थित मैदान मिल नजिक एकआपसमा ठोक्किए। मोटरसाइकल चालक धनगढीबाट अत्तरिया गइरहेको ट्रकमा च्यापिएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १ का सुरज कुँवरको मृत्यु भएको थियो।
०७७ साउनमा ६ लेन सडकमा मोटरसाइकल दुर्घटना भयो। दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का खेम साकीको मृत्यु भएको थियो।
०७८ जेठमा धनगढी चौराहामा मोटरसाइकल दुर्घटना हुँदा कैलालीको भजनी नगरपालिका वडा नम्बर १ का साधुराम डगौरा र मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मोहनप्रसाद जोशीको मृत्यु भयो। चटकपुरबाट भन्सार तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाइकलले ट्राफिक चौराहामा दुई साइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका थिए। घइतेमध्ये मोटरसाइकल चालक र साइकल यात्रीको मृत्यु भएको थियो। अन्य दर्जनौ दुर्घटनामा सयौँ घाइते भएका छन्।
पछिल्लो समय धनगढी ६ लेन सडमा दुर्घटनाको मुख्य कारण अव्यवस्थित पार्किङ देखिएको छ। अव्यवस्थित सवारी पार्किङका कारण दुर्घटना हुँदै आएको तथ्याँक मात्र संकलन गर्दै आएको ट्राफिक प्रहरी कार्यालयले पार्किङ व्यवस्थापनमा भने ध्यान दिएको छैन। यता प्रादेशिक ट्राफिक कार्यालयका निमित्त प्रमुख राजेन्द्रबहादुर सिँहले सडक क्षेत्रमा हुने पार्किङ हटाउन पटकपटक छलफल भएको दिनेशखबरलाई बताए। मोहनापुल–अत्तरिया ६ लेन सडकमा हुने पार्किङले दुर्घटना हुँदै आएको उनले बताए।
धनगढी–अत्तरिया ६ लेन सडक निर्माण सुरु भएपछि दुर्घटनामा ज्यान गुमाएका ११ जना
१) टेकबहादुर बोहरा
२) सञ्जिव राजी
३) भुपेन्द्र रावत
४) अशोक पाण्डे
५) सागर चौधरी
६) टेकबहादुर बलायर
७) चनकलाल डगौरा
८) सुरज कुँवर
९) मोहनप्रसाद जोशी
१०) साधुराम डगौरा
११) खेम साँकी
*तथ्यांक अत्यावधिक गरिएको । -सं