सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको वर्तमान नीति र नेतृत्व गलत छः कांग्रेस नेता ढकाल

२०७८ असोज १, ०१:३८ नारायण अवस्थी

धनगढीः नेपाली कांग्रेसका युवा नेता लोकेश ढकालले नेपाली कांग्रेसको वर्तमान नीति, नारा र नेतृत्व गलत भएको बताएका छन्। दिनेशखबरको नागरिक सवाल कार्यक्रममा कुराकानी गर्दै महासमिति सदस्यसमेत रहेका नेता ढकालले यस्तो बताएका हुन्। 

नेपाली कांग्रेस स्थापना कालदेखि नै राष्ट्रवादी शक्ति भएकोले आफ्ना वास्तविक मुल्य मान्यता, विचार र सिद्धान्तमा फर्कन १४औं महाधिवेशनले आधार निर्माण गर्ने उनी बताउँछन्। विगतमा कांग्रेसले राणा शासन, पञ्चायती शासनको अन्त्य र प्रजातन्त्रका लागि महत्वपूर्ण भुमिका खेलेको थियो। तर, अहिले नेपाली कांग्रेसको नेतृत्व र नीतिमा आएको स्खलनले पार्टीले आफ्नो राष्ट्रवादी छवि नै गुमाएको ढकालले बताए। ‘विगतमा कांग्रेसले निकाल्ने एउटा बक्तव्यले देशमा तरंग ल्याउथ्यो। तर, अहिले कांग्रेसले अन्य पार्टीका विचार बोक्नुपर्ने अवस्था आएको छ।’, ढकालले भने, ‘नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्तामात्रै होइन राष्ट्रवादी शक्ति पनि हो। कांग्रेस राजसंस्थापछिको दोस्रो राष्ट्रवादी शक्ति हो। राजसंस्था अहिले छैन तर त्यसको अस्तित्व त छ।’ नेता ढकालले कांगे्रसको हरेक निर्णयले मुलकलाई गति दिएको भएपनि अहिले आएर कांग्रेसको त्यो छवि नरहेको बताए।

नेपाली कांग्रेसको गौरवमय विगत भएपनि विपीको निधनपछि कांग्रेसले स्थापना कालिन विचार र चिन्तन छोड्दै गएको ढकालको बुझाई छ। कांग्रेसले विपीको विचाचरबाट विचलित हुने काम २०६२÷०६३ को आन्दोलनपछि शान्ति प्रक्रियाका नाममा झन भयो। नेपाली कांगे्रसले चाहिनेभन्दा बढी सम्झौता गर्यो। वामपंथी भासमा पार्टी भाँसिदै गयो। परिवर्तन र अग्रगमनमा नाममा संविधान निर्माण गरी कार्यन्वयन गर्दासम्म नेपाली कांग्रेसले आफ्नो मौलिक सिद्धान्तमा व्यापक सम्झौता गरिसकेको ढकालको दाबी छ। 

राष्ट्रियता, प्रजातन्त्रका मुल्य मान्यता, निर्वाचन प्रणाली, समावेशीता, क्रान्तिकारी हुने नाममा, नेपाली कांग्रेसले आफ्ना मुद्दा छोड्दै गयो। अरुले सेटिङ गरेको, अन्यत्रै सेटिङ भएको मुद्दालाई कांग्रेसले बोक्दै जादा नेपाली कांग्रेसले हिजोको राष्ट्रवादी छवि गुमायो। विपी, गणेशमान र कृष्णप्रसादले निर्माण गरेको चिन्तनबाट कांग्रेस विमुख भयो। सत्ताका लागि बहकियो। कांग्रेसलाई मौलिक बाटोमा कसरी ल्याउने भन्ने पहिलो चुनौति हो। दोस्रो चुनौति भनेको अनुशासित, विचारवान र आदर्श कार्यकर्ता निर्माण गर्नु हो।

तर, विडम्बना अहिले कांग्रेसको समस्या के हो ? त्यो बारे कांग्रेसले समिक्षा गरेको छैन। २०७४ को निर्वाचनमा भएको पराजयको समेत समिक्षा कांग्रेसले गरेन। केवल नेतृत्वको कमजोरी ढाकछोप गर्ने काम भयो। अहिले १४ औं महाधिवेशन हुँदैगर्दा महाधिवेशनमा विचार, मुद्दा र सिद्धान्तमा कुनै परिवर्तन आउने देखिन्न। कांग्रेसभित्रको वैचारिक समस्या के हो ? अहिलेसम्म उमेद्वारी घोषणा गरेका नेताहरुले कांग्रेसको बैचारिक र संगठनात्मक समस्या के हो ? त्यो बारे कुनै स्पष्ट दृष्टिकोण नै बाहिर आउको छैन। पार्टी, नेता र कार्यकर्तामा देशको स्वार्थ सर्वोपरी हुनुपर्ने विचार र दृष्टिकोण हुनुपर्नेमा त्यो नभएको ढकालको गुनासो छ।

अहिलेको परिवर्तनले देशलाई के दियो ? देशको समस्या समाधान गर्न कांगे्रसले के भुमिका खेल्नुपर्छ ? भन्ने जस्ता मुद्दामा १४ औं महाधिवेशनमा केन्द्रित हुने लक्षण देखिएको छैन। कर्मकाण्डी हिसावले १४ औं महाधिवेशन पुरा हुन्छ। कांग्रेस सही बाटोमा छैन। कांग्रेसले सही बाटो पहिल्याउन नीति, नारा र नेतृत्वमा परिवर्तन ल्याउनु पर्छ। अहिले आफै समस्याग्रस्त कांग्रेसले मुलुकको नेतृत्व गरेर समस्या समाधान गर्ने क्षमता राख्दैन। १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तन हुने सम्भावना भएपनि नारा र नीति परिवर्तन हुने सम्भावना कम रहेको नेता ढकालको अनुमान छ।

संविधान निर्माण गर्दैगर्दा कांग्रेसले पार्टीमा समेत छलफल गरेन। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता मिश्रित निर्वाचन प्रणाली ठीक थियो, थिएन ? यो बारे पार्टीमा बहस नै गरिएन। कागे्रसले अग्रगमनका नाममा प्रजातान्त्रिक मुल्य र मान्यतामा नै सम्झौता गर्ने काम गरेको छ। संविधान निर्माण गर्दा जनतालाई कांग्रेसले सोध्ने आवश्यकता नै ठानेन। जनताको भमवनाको कदर संविधान निर्माण गर्दा भएको छैन। संविधान निर्माण गर्दा अपनाइएका विधि र प्रक्रिया ठीक थियो ? आम जनताले दिएको सुझाव ग्रहण गर्ने काम भयो ? यी प्रश्नको जवाफ जनताले मागेको बेला कांग्रेसको के जवाफ हुन्छ ? जनताले दिएका सुझाव खोलेर हेर्नेसम्म काम किन गरिएन ? भन्ने प्रश्नको जवाफ दिने हैसियत कांग्रेसले राख्छ ?

संसारको सबैभन्दा महंगो संविधान बन्यो। यो संविधानमा सबै नेपालीको भावनाको प्रतिबिम्ब देख्न सकिन्छ ? संविधान निर्माण गर्नुपूर्व संविधान सभाको गठन हुनु अगावै मध्यरातमा धर्मनिरपेक्षता घोषणा गरियो। के त्यसमा जनताको सहमति खाजियो ? यी सबै मुद्दामा नेपाली जनताको भावना जोडिएको छ। नेपाली राष्ट्रियता जोडिएको छ। १४ औं महाधिवेशनबाट यी तमाम मुद्दामा कांग्रेसले बोल्न सकेन भने कांग्रेस जनताको पार्टी हो भन्न कठिन हुनेछ। कथित परिवर्तनका मुद्दामा कांग्रेसले पुनर्विचार गर्ने आधार भने १४ औं महाधिवेशनले तयार गर्ने छ। यो महाधिवेशनमा नयाँ नेतृत्व नेपाली कांग्रेसले पाउन सक्ने सम्भावना छ। नेतृत्व परिवर्तन भयो भने कांग्रेसले नीति र नारामा पनि विचार गर्ने अवस्था आउने उनको धारणा छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस