धनगढीमा साइकल ट्रयाक निर्माणको नीति छ, बजेट छैन
धनगढीः धनगढी उपमहानगरपालिकाको प्रत्येक वर्षको नीति तथा कार्यक्रममा कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनार तथा वडा नम्बर ४, ५, ६ र १३ का सामुदायिक वन क्षेत्र हुँदै बग्ने नदी किनारमा साइकल ट्रयाक निर्माण गरिने भनिएको हुन्छ। निर्वाचित जनप्रतिनिधिले उक्त पर्यटनको नीति तथा कार्यक्रमलाई प्राथामिकता दिएको दाबी गर्दै आएका थिए।
तर प्रत्येक वर्ष उक्त कार्यक्रमका लागि बजेट भने विनियोजन नगरिएको भन्दै कार्यान्वयन भएको छैन। चालू आर्थिक वर्षमा साइकल ट्रयाक निर्माणको योजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले बजेट विनियोजन नगरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए। उनले भने, ‘साइकल ट्रयाक निर्माणको योजना छ।
तर बजेट छैन। उपमहानगरसँग माग गरेको छु। नालामा तट्बन्धन पनि निर्माण गर्नुछ।’ पर्यटन पूर्वाधार निर्माणमा उपमहानगरपालिकाले बेवास्ता गरेको गुनासो नगरवासीको छ। प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रममा साइकल ट्रयाक निर्माणको योजना समावेश हुने तर बजेट विनियोजन नगर्ने भन्दै साइकल यात्रीले आक्रोश व्यक्त गरेका हुन्।
धनगढीका खोलानाला तथा सामुदायिक वनहरुको अतिक्रमण रोक्न र पर्यटन क्षेत्रको विकासका लागि साइकल ट्रयाक निर्माणको नीति महत्वपूर्ण भएपनि उपमहानगरपालिका उदासिन देखिएको फारवेस्ट राइडर्सका संस्थापक अध्यक्ष भरतविक्रम शाहले बताए। उनले भने, ‘धनगढीमा साइकल ट्रयाक निर्माणको नीति छ। तर काम भएको छैन।
मेयर सापलाई भेट गर्ने सोचेको थिए। तर बिरामी भएर अस्पताल भर्ना हुनु भएको रहेछ।’ धनगढी उपमहानगरपालिकाले नाला तथा नदी किनार र सामुदायिक वनका किनारमा साइकल ट्रयाक निर्माणका लागि अध्ययनसमेत भएको छैन। उपमहानगरपालिकाले वडा नम्बर ८ को नाला किनारको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेको भएपनि अन्य वडाहरुमा अध्यायन नभएको हो।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले सबै नाला, नदी तथा समुदायिक वनको किनारमा साइकल ट्रयाक निर्माणका लागि अध्यायन नभएको बताए। उनले भने, `वडा नम्बर ८ मा अध्यायन भएका हो। अरु ठाउँको भएको छैन्। नदी किनारमा ठाउँ छैन।
ठाउँ खाली नगराएर अध्ययन पनि कसरी गर्ने ?’ धनगढीको शिवपुरी धाम, जाखोर ताल, बेहडाबाडा मन्दिर लगायतका पर्यटकीय क्षेत्रलाई साइकट ट्रयाकले जोड्ने उमहानगरपालिकाको नीति छ। प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश हुने, तर बजेट विनियोज नहुने भन्दै नगरवासीले आक्रोश व्यक्त गरेका छन्।