सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङेले बुझाएनन् सम्पत्ति विवरण, भन्छन्, ‘सम्पत्ति कति छ कन्फ्यूज छु’

२०७८ भदौ २७, ०६:११ खबर संवाददाता

धनगढीः गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। ११ मन्त्रीमध्ये २ मन्त्रीले हालसम्म विवरण नबुझाएका हुन्। मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने नै निर्क्यौल नगरेको बताएका छन्। आइतबार पत्रकार भेटघाटमा उनले श्रीमती र छोराहरुको नाममा भएको भन्दै त्यसलाई आफ्नो भन्न नमिल्ने बताएका हुन्।

‘सम्पत्ति कति छ, कहाँ छ, आफैं कम्फ्य्ज छु,’ उनले भने, ‘मसँग सम्पत्ति छ। छैन भन्न मिल्दैन। तर फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ। अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ।’ उनले मुद्दा नै आफ्नो सम्पत्ति भएको सुनाए। ‘मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ,’ उनले भनेका छन्, ‘त्यो सम्पत्ति अहिले बढेको पनि छ। अरू अहिलेसम्म मसँग केही पनि छैन। कसैले दिन्छु भन्दै आउला।’

मनाङे कर्तव्य ज्यान मुद्दामा कारबाहीमा परेका थिए। हालसम्म मुद्दा छिनोफानो भएको छैन। मुद्दा लड्न हिरासत मुक्त भएका मनाङेले सोही समयमा सांसदको शपथ ग्रहण गरेका हुन्। उनी तेश्रो पटक गण्डकीको युवा तथा खेलकुद मन्त्री बनेका हुन्। मनाङेलाई सम्पत्ति शुद्धीकरण मुद्दासमेत थियो। त्यसमा सफाइ पाइसकेको उनको दाबी छ।

कमेन्ट लोड गर्नुस