पाटन दरबार सङ्ग्रहालय खुल्यो
ललितपुर: पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ।
मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो। बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए। उनले भने, “बुधबार ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो।” महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म सङ्ग्रहालय खुलाइने गरिएको लाखेले जानकारी गराए।
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गरी बुधबारदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरु अघि बढेको लाखेको भनाइ छ। ललितपुरमा सङ्ग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थलसमेत खुला भएका छन्।
यसैगरी केही दिनअघिदेखि बङ्गलामुखीका साथै छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिरसमेत खुला गरिएको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए। कुम्भेश्वर मन्दिर भर्खरै जीर्णाेद्धार सम्पन्न भएकाले सो अघि लामो समय बन्द गरिएको खड्गीले जानकारी गराए।
पाटन दरबार सङ्ग्रहालय क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ। सङ्ग्रहालय रहेको पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कात्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वरमा मेला आदि मनाइन्छ।
सङ्ग्रहालयसँगै दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिरसमेत रहेका छन्। सो सङ्ग्रहालय धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरको रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ। सङ्ग्रहालय रहेको पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गर्छन्। पाटन सङ्ग्रहालय नेपालको जेठो नगरपालिका ललितपुर महानगरपालिकामा पर्दछ।