जहाँ खुलेआम हुन्छ ‘घुस’ लेनदेन
धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ का शिवराज चौधरीले मोटरसाइकल खरिद गरे। नामसारीका लागि बुधबार यातायात व्यवस्था कार्यालय धनगढी पुगे। मोटरसाइकलको नामसारीका लागि कार्यालयमा पुगेका उनलाई बाहिरबाट फारम भर्न भनियो।
यातायात व्यवस्था कार्यालयले भर्नुपर्ने फारम चौधरीले बाहिर भरे र सेवा शुल्क भन्दै बिचौलीयालाई ५ सय बुझाए। उनले भने, ‘म नामसारीका लागि आए। कार्यालयमा जाँदा फारम भर्न बाहिर जानु भनियो। पाँच सय तिरेर अहिले काम गरिरहेको छु।’
यातायात व्यवस्था कार्यालय धनगढीमा घुसबीना काम गर्नै मुस्किल हुने गरेको हो। ‘सवारी कर भुक्तानी गर्दादेखि दर्ता, नविकरण लगायतमा पनि अनियमितता मौलाएको छ, खुलेआम घुसको लेनदेन हुन्छ, घुसबीना काम नै हुँदैन्,’ कार्यालयमा भेटिएका डोटीका रोशन खड्काले भने। कर्मचारीको मिलेमतोमा बिचौलीयाको असुली धन्दा झनै मौलाएपछि सेवाग्राहीलाई सास्ती बढेको उनको भनाई छ।
यातायात कार्यालयका कर्मचारीले गर्नुपर्ने कामसमेत बिचौलीयालाई जिम्मा दिएपछि सेवाग्राहीले अतिरिक्त शूल्क तिर्नुपर्ने बाध्यता नै बनेको हो। बिचौलीयाबीना भने यातायातमा काम गर्नै मुस्किल छ। यातायातमा हुने हरेक काम बिचौलीयाले गर्दा सेवाग्राहीलाई सास्ती बढेको छ।
‘बिचौलीया र कर्मचारीको मिलोमतोमा यातायात व्यवस्था कार्यालयमा अनियमितता मौलाएको छ,’ कार्यालयमै भेटिएका सेवाग्राही इन्द्र चौधरीले भने, ‘सवारी चालक अनुमती पत्रको लिखित र प्रयोगशात्मक परीक्षा, नविकरण, जाँचपास, सवारी साधन दर्ता, नामसारी लगायतका काम बीना कमिसन नहुने समस्या रहेको छ।’
यातायात व्यवस्था कार्यालय धनगढीका निमिक्त प्रमुख लक्ष्मण शाह कर्मचारीको अभाव देखाउदै पन्छिए। ‘हामीले कर्मचारी पनि कम छौ। बाहिर काम गर्दा उनीहरुले सेवा शुल्क लिन्छन होला,’ उनले भने। यातायात कार्यालयका कर्मचारीकै मिलेमतोमा बिचौलीयाले असुली धन्दा चलाएको आरोप लाग्दै आएको छ।
सुदूरपश्चिमका नौँ जिल्लामध्ये सवारी चालक अनुमती पत्र वितरण, जाँचपास, नविकरण, नामसारी लगायतका काम कैलाली र कञ्चनपुरमा मात्रै हुने गरेको छ। पहाडी जिल्लामा रहेका सेवा कार्यालय मार्फत सेवा प्रवाह हुन सकेको छैन्।