सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

२०७८ भदौ २१, ०७:२८ रासस

काठमाडौँ: नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ। 

यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो। टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरे। उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ। 

यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने  फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ। 
 

कमेन्ट लोड गर्नुस