‘अंग्रेजी साहित्यको नवीनतम भनिएका कुरा त गीतामा रहेछन्’
धनगढी: कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हरी चन्द्र कमलीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
श्रीमद्भागवतमा नै विद्यावारिधि गर्ने भन्ने सोच कसरी निर्माण हुन पुग्यो ?
हाम्रो समाजको चलन बच्चादेखि नै तिमी के बन्ने ? भनेर सोध्ने गरिन्छ। यो सामान्य नै हो हो। मेरो सवालमा औपचारिक उच्च शिक्षा हाँसिल गरेको कुरा र सांस्कृतिक ग्रन्थमा नै विद्यावारिधि गर्ने भन्ने सोच निर्माण भएको धेरै पहिला देखि होइन। प्राध्यापनमा लागिसकेपछि विद्यावारिधि गर्ने सवाल र रिसर्चका कुराहरु गर्ने स्वाभाविक सपना त निर्माण हुने नै भयो। तर श्रीमद्भागवतममा नै अर्थात् कुनै धार्मिक ग्रन्थमा नै गर्ने भन्ने चाँहि ७ वर्ष जति भयो।
जब मैले अंग्रेजी साहित्यमा दोस्रो डिग्री गर्न थाले, जब पाश्चात्य दर्शनको बारेमा जानकारी प्राप्त भयो। तब हामी सबैले सुन्दै आइरहेका कुराहरु अधिकांश नविनता पश्चिमाहरुले हाम्रो यताबाट लगेर आफ्नो बनाएका हुन भन्ने कुरा मैले पनि सुने। र, पढ्दै गर्दा त्यो भेटाए पनि। अंग्रेजी साहित्यका दर्शनहरु पढिरहँदा गीता पनि अध्ययन गरे र अंग्रजी साहित्यको नवीनतम भनिएका कुरा त गीतामा रहेछन। त्यसपछि एउटा बौद्धिक वर्गले गर्नु पर्ने कुरा सम्झिए। यस्तो कुरा त राष्ट्रिय अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने भएपछि अनि बल्ल श्रीमद्भागवतमा विद्यावारिधि गर्ने सोच भन्यो। त्यसपछि पनि सकिन्छ सकिँदैन भन्ने ठुलो प्रश्न थियो। जसको जबाफ जति सकिन्छ लाग्न त लागू, राम्रो काम जति सके पनि राम्रो नै हुन्छ भन्नेबाट आफैलाई दिए र गरे। अन्ततः सफल भइयो।
तपाईंको जन्म र बाल्यकालको बारेका बताइदिनु न
जीवनमा एउटा कुरा स्वाभावतः हुनेरहेछ। जति दुख संघर्ष पहिला भोग्यो त्यति नै बढी मिठास पछि भविष्यमा महसुस हुँदो रहेछ, सन्तुष्टि दिँदो रहेछ। यस्तै मेरो पनि अनुभुती छन्। प्राथमिक तहको अध्यनको लागि त गाउँ नजिकै स्कुल थियो त्यस्तो अप्ठ्यारो थिएन। ५ कक्षा पास गरिसकेपछि भने एक घन्टा हिडेर नै जानपथ्र्याे। ग्रामीण परिवेश, खेती किसानी गर्ने परिवार थोरै भए पनि पढ्दापढ्दै काम गर्नुपथ्र्यो। मेरो जन्म भने लमजुङमा भएको हो र पढाई पनि माध्यमिक तहसम्म जन्मेकै ठाउँमा गरे तर एसएलसीपछि भने पढ्न भनेर म चितवन गए।
चितवनमा आफन्तहरु हुनुहुन्थ्यो आफन्तहरुको मा नै बसेर प्लस टु पढे। उहाँहरुले नै सहयोग गर्नुभयो। त्यस पछि मनमा के सोच आयो कि अब त म आफैले काम गरेर पढ्नुपर्छ। आफन्तहरुले पनि यत्रो सहयोग गरिहाल्नु भयो। परिवारले थप पढाउने सम्भावना छैन। आफ्नै खुट्टा उभिने र पढ्ने भनिसकेपछि गाउँ घरबाट पनि त्यति बेला अध्यापन गराउनको लागि अफरहरु थिए नै त्यो भएपछि म आफै पनि दोधारमा परिरहेको थिए।
गाउँमा पढाउन गएपछि थप उच्च अध्यन गर्न नसकिने काम न गरेर पनि अध्यन गर्न न सकिने। त्यहीबेला अब जे जसरी पनि पढाई न छोडु बरु त्यति बेला भरतपुरमा राम्रै बोर्डिङ स्कुलहरु थिए त्यहीँ पढाउने त्यहीँ पढ्ने गर्नु पर्यो भन्ने लाग्यो।
र, त्यसरी सानो स्केल तलब एक हजार लिएरअध्यापनको यात्रा पनि सुरु भयो। स्नातक तह पनि चितवनबाट नै गरे र स्नातकोत्तर गर्न त चितवनमा थिएन। आउँदै छ भन्ने हल्ला त त्यो समयमै थियो तर आफ्नो पनि मनमा स्नातकोत्तर चाहिँ केन्द्रीय क्याम्पस बाट गर्नुपर्छ भन्ने कुरा लाग्यो र होम ट्युसन आदि गरेर जम्मा गरेको पूँजी लिएर काठमाडौ गए र त्यहीँबाट पहिलो एमएड अंग्रेजीबाट गरे।
कुनैकुनै अवस्था यस्ता हुँदारहेछ हामीले चाहेर पनि आर्थिक अवस्थाले नचाहने भइदो रहेछ। त्यो समयमा पनि मलाई त्यस्तै भयो। अहिले त्यो पल सम्झेर हाँसो उठ्छ पहिलो मास्टर्सको थेसिस गर्न म सँग समय नहुने भयो। मास्टर्स गर्दैगर्दा भाई परिवारको जिम्मेवारी लिनुपर्ने भएर मैले समय छुट्याउन नसकिएपछि थेसिस गरेसँगै क्याम्पस तहको शिक्षण सुरुवात नै सुदूरपश्चिमबाट गरे।
डोटीमा पहिलो चोटी क्याम्पसमा करार दरबन्दीमा अध्यापन गराएको थिए। त्यसैले सुदूरपश्चिमप्रति मेरो फरकै लगाव छ। यहाँको भाषा, कला परम्परा आदि रुचाउने भएपछी बर्दियाको एउटा सामुदायिक क्याम्पसमा अध्ययन गराए। र, पछिल्लो लामो समयदेखि म कैलाली बहुमुखी क्याम्पसमा अध्यापन कार्यमा लाग्न पुगेको छु। यसरी सम्भावना खोज्दै र चुनौतीको सामना गर्दै आइयो। अहिले भने केही सहज छ।
आफैलाई फर्केर हेर्दा आफुलाई सन्तुष्ट पाउनुहुन्छ ?
जो जता जस्तोसुकै स्थितिमा भएपनि यी प्रश्न हरेकमा यस्ता प्रश्नहरु उठ्छ। मेरो सवालमा पनि उठ्छन् नै। म आफुमा भने त्यस्तो असन्तुष्टि रहेन। जहिले पनि सम्भावना खोज्दै, चुनौती सामना गर्दै र सकारात्मक हुँदै यात्राहरु तय भए। त्यो यात्रामा नै सन्तुष्ट छु।
विद्यावारिधि पछि समाजलाई म यो कुरा दिन चाहन्छु भन्ने लागेको कुरा हो र कसरी दिनुहुन्छ ?
पहिलो कुरा त एक अध्यापन पेशामा लागेको छु। सिक्ने सिकाउने कुराहरु छदैछन्। यसलाई निरन्तरता दिनुपर्ने छ। जस्तो श्रीमद्भागवतमा कृष्णले अर्जुनलाई कसरी शिक्षा दिएका छन् त्यही परिवेशलाई हेर्ने हो भने पनि जस्तो अर्जुन लडाइँको लागि तयार छैनन्। युद्ध मैदानमा आएर कसरी लड्ने न लड्ने भन्नेसम्म पुग्छन् तर कृष्णले अर्जुनलाई तयार पार्छन्। यहीँ कुरा एउटा विद्यार्थी कलेज आएर पढ्दैन भन्ने लागेमा शिक्षकले पढ्ने बनाउनुपर्यो भन्ने ज्ञान श्रीमद्भागवतमा रहेको छ। यो कुरा लिन सकिन्छ। म आफुले आफुमा यहीँ लागू गर्ने हो र विद्यार्थीहरुलाई दिने हो। अरु चाहिँ कलेजहरुमा गएर बाँड्नु त छँदैछ।
(पूरा अन्तरवार्ता दिनेशखबरको युट्युब च्यानलमा हेर्नुहोला।)