सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालबालिकामा मार्यादित ब्यवहारको प्रवर्द्धन गरौँ !

२०७५ मंसिर १६, ११:०१

हाम्रो घर,परिवार,समाज र बिद्यालयहरुमा बालबालिकालाई कसरी सम्बोधन गरिन्छ अर्थात बोलाईन्छ त्यसको मनोबैज्ञानिक असर बालबालिकामा परिराखेको हुन्छ। तर अभिभावक,समाज र शिक्षकहरु यो तथ्यबाट बेखवर रहनु निकै गम्भीर कुरा हो।हामीले घरपरिवार अनि बिद्यालयबाट नै बालबालिकालाई सम्मान र मार्यादा दिन सक्नुपर्छ। तर त्यसो  अझैसम्म हुन सकिरहेको छैन। हाम्रा अधिकांश परिवारमा बालबालिकाबाट एकोहोरो सम्मानित र मार्या्दित ब्यवहारको अपेक्षा गरिन्छ तर उनीहरुलाई अभिभावकको तर्फबाट कुनै मार्यादा या सम्मान दिनुपर्ने जरुरी ठानिदैन। घर परिवारका मान्यजनप्रती बालबालिकाले सदैव विनम्रता दर्शाउनुपर्ने तर बदलामा बालबालिकाले सोही किसिमको मार्यादा नपाउदा उनीहरुमा नजानिदो तरिकाले गलत सिकाई भईराखेको हुन्छ। घरमा ठुलाबडाले जसरी बोल्दा पनि हुन्छ तर सानाले मात्रै मार्यादाको ख्याल गर्नुपर्छ भन्ने मान्यता बालबालिकाले बोक्न पुग्दछन्। जसको कारण बालबालिकाले पनि आफ्नो समुहमा त्यसै अनुरुपको मार्यादाको सिमा निर्धारण गर्न पुग्छन्। मार्यादाको स्तर ब्यक्तिको उमेर र लिङ्गको आधारमा गर्नु पर्दछ भन्ने नकारात्मक सिकाइ नजानिदो किसिमले बालबालिकामा भैराखेको हुन्छ। जसले गर्दा केटाले केटीलाई कुनै मार्यादा वा सम्मान दिनुपर्छ भन्ने महसुस नै गर्न सक्दैन। 

हाम्रो परिवारमा उमेर र लिङ्गको आधारमा मार्यदाको सिमा निर्धारण गरिएको पाइन्छ। परिवारमा घरमुलीको सदैव बोलवाला रहन्छ र घरमुलीको रुपमा धेरैजसो परिवारमा पुरुष सदस्य नै रहेको पाइन्छ । बुवाआमाले एकअर्काप्रती गर्ने ब्यवहारले छोराछोरी प्रभावित हुने गर्दछ्न। हाम्रो बोलीचालीको काराणले भोलि बन्ने नयाँ परिवारको ब्यवहारलाई निर्दिष्ट गर्दछ। परिवारभित्रको बोलीचाली व्यवहार र मार्यादाको आदानप्रदानको अवस्थाले हाम्रो समाजलाई समेत प्रभावित गरिराखेको हुन्छ। परिवारमा सिकेको ब्यवहारको प्रयोग ब्यक्तिले समाजमा गर्ने गर्दछ। ब्यक्तिले परिवार भित्र आमाबाबु छोराछोरी लगायत अन्य सदस्यहरुबाट पाउने र तिनीहरुलाई दिनुपर्ने मार्यादाको आधारमा धर्म,वर्ग,लिङ्ग, जातजाति, उमेर आदिकाआधारमा समाजमा मार्यदा दिने र सामाजका विभिन्न ब्यक्तिहरुबाट सोही किसिमको मार्यादा पाउने अपेक्षा राख्दछ। यसरी हाम्रा बालबालिकाले अभिभावकबाट नै कस्तो मार्यदा दिने र प्राप्त गर्ने भन्ने कुराको शृङ्खला आफुभित्र निर्माण गर्न पुग्दछन् । मार्यादा दिने र प्राप्त गर्ने कुरामा स्तरिकरण हुनु सर्वथा गलत किसिमको सिकाइ हो। मानव समाजमा ब्यक्ती पिच्छे फरक स्तरको मार्यदा प्रदर्शन गर्नु भनेको मानव अधिकारको विश्वब्यापी घोषणापत्रको मर्म विपरित हो। 

घरपरिवारबाट समाजमा जादा जसरी बालबालिका मार्यदाको स्तरिकृत शृङ्खलामा फस्छ्न त्यसैगरी बिद्यालयमा पनि उनीहरु मार्यादाको जालोमा जकडिन पुग्दछ्न। विद्यालयमा शिक्षकको स्थान मार्यादाको उच्चस्थानमा हुन्छ भने विद्यार्थीको स्थान निम्न हुन्छ। अहिले पनि हाम्रा बिद्यालयहरुमा बिद्यार्थीलाई शिक्षकहरुले “त“ सम्बोधन गरेर बोलाउने गलत चलन हट्न सकेको छैन।गाउँघरका बिद्यालयमा  त झन शिक्षकहरुले बिद्यार्थीको नाम सहि ढंगले बोलाउनु पर्ने आवस्यकता समेत महसुस गर्दैनन्। बिद्यालय या कक्षाकोठामा बिद्यार्थीको शारीरिक बनावट, अनुहार, शरिरको छालाको रंग,पढाइको स्तरको आधारमा समेत विभिन्न उपनामले बोलाउने खिल्ली उडाउने गरिन्छ। शिक्षकहरुका यस्ता ब्यवहारले कलिलो बाल मस्तिष्कमा नकारात्मक असर पर्न जान्छ भन्ने हेक्का कसैबाट पनि राखिन्न। शिक्षकले आफुले मात्र बिद्यार्थीबाट मार्यादा मानसम्मान खोज्ने तर बिद्यार्थीलाई “तिमी“ सम्बोधन समेत नगर्ने अनि सहि नाम समेत नलिने गर्नाले बालबालिकाको समग्र मनोबैज्ञानिक पक्षमा आघात पुग्नुका साथै सामाजिकिकरणमा समेत ठूलो धक्का लाग्न पुग्दछ।

हामीले बच्चालाई जस्तो बाताबरणमा हुर्काउछौ त्यसै किसिमको बानी व्यवहार उसमा बिकास हुन जान्छ।यदि आज हामीले हाम्रो बच्चाहरुप्रती मार्या्दित र स्तरिय ब्यवहार गरिराखेका छौँ भने पक्कै पनि उसले भविष्यमा अरुलाई पनि मार्यादा दिन सक्षमता राख्न सक्दछ।तर बिडम्बना के छ भने हामीले घरपरिवारदेखि विद्यालयसम्म बालबालिकालाई समान मार्यादा दिनु र लिनुपर्छ भन्ने व्यवहार बिकास गर्न सकिराखेका छैनौं। सबैप्रति समान व्यवहार र मार्यादाको प्रदर्शन गर्नुपर्छ भन्ने आधारभुत मानबिय गुणको बिकास बालबालिकामा गराउनुको सट्टा मार्यादाको विभिन्न तहहरु सिर्जना गरेका छौँ जसले गर्दा हाम्रो घरपरिवार,समाज र बिधालयबाट बालबालिकाले मार्यादको मूल्य र मान्यतालाई आत्मसात गर्न सकिराखेका छैनन्। हाम्रा बालबालिकामा मार्यादित जीवन जीउन सिकाउने उपयुक्त थलो घरपछि बिद्यालय नै हो। बच्चा विद्यालय जान थालेपछि उसको सबैभन्दा बढी समय बिद्यालयमा नै ब्यतित हुन्छ। आमाबाबु भन्दा उसले सिक्षकलाई रोलमोडलको रुपमा लिने गर्दछ। विद्यालयले नै बालबालिकाको सोच छ र सिकाईलाई निश्चित आकार दिन महत्वपूर्ण भुमिका खेलेको हुन्छ। बिद्यालयमा शिक्षकहरुले बालबालिकामा मार्यादित ब्यवहारको अवधारणालाई जिवन्त तुल्याउने कार्य सफलतापुर्बक गर्न सक्दछ्न। शिक्षकले बोल्ने भाषा,गर्ने व्यवहार र दिने मार्यादाको बालबालिकाले सुक्ष्म अवलोकन गरिराखेका हुन्छन् । शिक्षकबाट बालबालिका हरेक कुरामा प्रत्यक्ष र परोक्ष प्रभावित भएका हुन्छन्। शिक्षकको ब्यवहार बिद्यार्थीबाट मात्रै मार्यादा मान सम्मान खोज्ने तर बिद्यार्थीलाई अपमान गर्ने खालको कदापी हुनुहुदैन । शिक्षकले गर्ने अपमानले बिद्यार्थी बिक्षिप्त हुने सम्भावना अधिक रहन्छ तसर्थ बोली र ब्यवहारमा शिक्षकले सदैव सजक र चनाखो रहनुपर्ने हुन्छ। घरपरिवार,समाज र बिद्यालयमा बालबालिकाप्रती मार्या्दित व्यवहार गर्न सक्यो भने बालबालिकामा सामाजिक बिचलन हुने जोखिम हुँदैन। मार्यादित जीवनको आकांक्षा सबैको हुन्छ र हुनु पनि पर्दछ। बालबालिकामा आफ्नो मार्यादाप्रति सचेत रही अरुलाई पनि मान सम्मान र मार्यादा दिने बानीको बिकास गर्न घरपरिवार, शिक्षक र बिद्यालयले महत्वपूर्ण भुमिका खेल्न सक्छन्। बिद्यालय पवित्र ठाउँमा हामीले सबै किसिमको विभेदलाई निरुत्साहित गरि समान मर्यादा र सह अस्तित्वलाई सबै मिलेर प्रवद्र्धन गर्नु पर्दछ।
 

कमेन्ट लोड गर्नुस