पीडित पुरुष धाउन थाले अदालत
नयाँ मुलुकी संहिता लागू भएपछि जिल्ला अदालत दार्चुलामा नयाँ प्रकृतिका मुद्धा दर्ता हुन थालेका छन् । जिल्ला अदालत दार्चुलाका अनुसार जिल्लामै पहिलो पटक पुरुषद्धारा सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता भएका छन् । अदालतमा तीन दिनमा चार जना पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गरेको जिल्ला अदालतले जनाएको छ । गत वर्षसम्म कुनै पनि पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गराएका थिएनन्, तर अहिले चार जना पुरुषले सम्बन्ध विच्छेद गराई पाउँ भन्दै मुद्धा दर्ता गराएको जिल्ला अदालत दार्चुलाका डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिए । जिल्ला अदालतमा आएर मुद्धा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका पुरुष बढी छन् भने एक जना काठमाण्डौमा गैरसरकारी संस्थामा कार्यरत पुरुष छन् ।
मुद्धा दर्ता गराउनेमा महाकाली नगरपालिकाका दुई, मालिकार्जुन गाउँपालिकाका एक तथा दुहुँ गाउँपालिकाका एक जना पुरुष रहेको अदालतले जनाएको छ । तीन चारवर्ष बैदेशिक रोजगारीमा गएर घर फर्किएपछि सम्बन्ध पति पत्नी बीच सम्बन्ध विग्रिएर मुद्धा दर्ता गर्नसम्म पुगेका छन् पन्तले भने । जिल्लाका अधिकांश पुरुष बैदेशिक रोजगारीमा जाने गर्छन् । पति बैदेशिक रोजगारीमा जान्छन्, भने पत्नी बालबच्चा पढाउन सदरमुकाममा बस्छन् । बजारको फेसन, रहनसहनले परिवर्तन खोज्छन्, पन्तले भने–, पतिले कमाएको रकमले नपुगेपछि विकल्प खोज्दै जान्छन् र दुवै जनाबीच सम्बन्ध विच्छेदको अवस्था पुग्छ ।मुलूकी ऐनको परिच्छेद ३ को धारा ९४ मा पतिले पनि सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान छ । सोही प्रावधान अनुसार पुरुषले मुद्धा दर्ता गराएका हुन् । चारै जनाले अंश दाबी भन्दा पनि सम्बन्ध विच्छेद नै भनेर निवेदन दर्ता गराएका छन् । सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गराउने पुरुष ३५ वर्ष मुनिका छन् । पतिपत्नी बीच हुने सम्बन्ध विच्छेदका कारण बालबालिका भने समस्यामा पर्ने देखिन्छ ।
नयाँ मुलुकी ऐन लागू भएपछि उस्तै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्धा दिनेको संख्या बढेको छ । गत आर्थिक वर्षमा १४ थान मुद्धा सम्बन्ध विच्छेदका परेका थिए । जसमा चार थान मुद्धा जिम्मेवारी सरी आएका छन् । यस आर्थिक वर्षको भदौ यता मात्रै १२ थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको डिठ्ठा पन्तले बताए । अहिलेको अनुपातमा मुद्धा बढ्ने हो भने यस आर्थिक वर्षमा दुई दर्जन बढी सम्बन्ध विच्छेदकै मुद्धा पुग्न सक्छ । पति र पत्निबीच हुने सम्बन्ध विच्छेदका कारण तिनीहरुका बाल बालिकामा समस्या हुने गरेको छ । बालबच्चा सानै छदा आमा बुवाले सम्बन्ध विच्छेद गर्दा उनीहरुको प्रत्यक्ष मानसिक असर बालबालिकामा पर्ने गरेको जिल्ला वार एसोसियसनका अधिवक्ता धिरेन्द्र साउँदले बताए । कयौं बालबालिका आमा बुवाको सम्बन्ध विच्छेद हुँदा रुने र अभिभावक विहीन भइरहेका छन्, साउँदले भने । झन बुवाले समेत सम्बन्ध विच्छेदका मुद्धा दर्ता गरेपछि यसको असर झन बालबालिकामा देखिन सक्छ– उनको भनाई छ । महिला अधिकारकर्मी गौरी बडाल सम्बन्धविच्छेद हुनुमा महिला पुरुष दुवैमा विश्वासको वातारण बन्न नसक्नु रहेको बताउँछिन् । दुई जना कामको सिलशिलामा अलग बस्दैमा अविश्वास उत्पन्न हुने हैन, तर दुवैले एक अर्काप्रति विश्वास जगाउन नसक्नु समस्या हो उनले भनिन्– पछिल्लो समय सामाजिक सञ्जाल, मोवाइल, इन्टरनेटजस्ता कारणले सम्बन्धविच्छेका घट्नाहरु बढि देखिएको छ ।