सुदूरपश्चिममा साढे १६ करोडको योजनामा ठेक्का भएन, ३ करोडको सामान सोझै खरिद
धनगढी : सुदूरपश्चिम प्रदेशसभा र मन्त्रालयलहरुले सार्वजनिक खरिद नियमावलीको उल्लंघन गरेका छन्। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार प्रदेश सभा सचिवालय र दुई मन्त्रालयले गैरकानूनी रुपमा साढे १९ करोड बढीको योजना कार्यान्वयन गरेका छन्।
प्रदेश सभा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयले बोलपत्र आह्वान गरेर कार्यान्वयन गर्नुपर्ने १९ करोड ६२ लाख ६५ हजारका योजना प्रतिस्पर्धाबीना कार्यान्वयन गरेका हुन्।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्रदेश सभा सचिवालयले २२ लाख ३० हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयले १६ करोड ६२ लाख ५६ हजार र सामाजिक विकास मन्त्रालयले २ करोड ७७ लाख ७९ हजारको काम सार्वजनिक खरिद नियमावली २०६४ बिपरित गरेका छन्।
प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयले खरिद र भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माणको योजना कार्यान्वयन गर्दा सार्वजनिक खरिद नियमावली २०६४ मिचेको हो। यता भौतिक पूर्वाधार विकास मन्त्रायलका सचिव इन्द्रदेव भट्टले सो विषयमा जानकारी नभएको बताए। उनले भने, ‘१६ करोड त धेरै होला। त्यस्तो छैन होला।’
सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २ करोड ३८ लाख ६४ हजारका स्वास्थ्य सामाग्रीसमेत नियमविपरित खरिद गरेको छ। महालेखाको प्रतिवेदनअनुसार प्रतिस्पर्धाबीना खरिद गरिएका सामाग्रीको मुल्यसमेत लागत अनुमान कै हाराहारीको छ। तर मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम विष्टले चैतमा मास्क लगायतका सामाग्रीको मूल्य बढी भएको बताए।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ अनुसार २० लाखभन्दा माथिको निर्माण कार्य तथा मालसमान खरिद र ५० लाख भन्दा बढीको औषधिजन्य मालसमान खरिद बोलपत्रको माध्यमबाट गर्नुपर्ने उल्लेख छ। तर प्रदेशको प्रदेशसभा सचिवालयले २२ लाख ३० हजार, सामाजिक विकास मन्त्रालयले २ करोड ७७ लाख र भौतिक पूर्वाधार विकास मन्त्रालयले १६ करोड ६२ लाखको योजना बोलपत्र आह्वान नगरी सोझै कार्यान्वयन गरेको हो।
सामाजिक विकास मन्त्रालय र प्रदेश सभा सचिवालयको झण्डै ३ करोड बजेट नियमावलीविपरित सामान खरिदमा खर्च भएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयको १६ करोड ६२ लाख बजेट बोलपत्र आह्वान नगरी विकासे योजना कार्यान्वयनमा खर्च भएको छ। प्रदेश सभा सचिवालयका सचिव रामबहादुर धामीले स्टेश्नरी लगायतका स–साना सामाग्री खरिद गरेको बताए।