सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा संसदीय समितिको मनपरी: बजेटको छलफलमा १८ लाख, भ्रमणमा २१ लाख खर्च

२०७८ भदौ ३, ०६:५८ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सभाका समितिहरुले अनुगमन, अवलोकन, भ्रमण तथा छलफलमा मनोमानी रुपमा रकम खर्च गर्दै आएको आरोप लाग्ने गरेको छ। 

गत आर्थिक वर्ष २०७७/०७८ मा पनि प्रदेश सभाका विभिन्न समितिले लाखौ रकम खर्च गरेका छन्। अर्थ विकास समितिले पूर्व बजेट माथिको छलफलका लागि मात्रै १७ लाख ९९ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ। 

चालु आर्थिक वर्ष २०७८/०८९ को बजेट माथिको छलफलका लागि झण्डै १८ लाख खर्च भएको छ। नीति तथा कार्यक्रम माथिको छलफलका लागि एक लाख २३ हजार ९ सय ६६ रुपैयाँ खर्चेको अर्थ विकास समितिले बजेट माथिको पूर्व छलफलका लागि उक्त रकम खर्च गरेको हो। 

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार अन्तर प्रदेश भ्रमणमा झण्डै २१ लाख सकिएको छ। गत आर्थिक वर्षमा सामाजिक विकास समितिले ८ लाख ५३ हजार ५ सय ७८, अर्थ विकास समितिले ८ लाख ६२ हजार ६ सय ६३ र विद्यायन समितिले ३ लाख ६९ हजार ४ सय ९० रुपैयाँ अन्तर प्रदेश भ्रमणमा सकेका हुन्। सार्वजनिक लेखा समितिले भने गत आर्थिक वर्षमा अन्तर प्रदेश भ्रमण गरेको छैन। 

यस्तै विधेयक उपर राय सुझाव संकलनका लागि सामाजिक विकास समितिले १० लाख ६४ हजार ६ सय ५९, अर्थ विकास समितिले एक लाख ६६ हजार ७ सय ३९ र विद्यायन समितिले ८ लाख ८४ हजार ४ सय २४ रुपैयाँ खर्च गरेको छ। 
अनुगमन तथा अवलोकन शिर्षकमा समितिहरुले  झण्डै १० लाख सकेका छन्। चार समितिले उक्त शिर्षकमा ९ लाख ८१ हजार ५ सय १० रुपैयाँ खर्चेका हुन्।

अनुगमन शिर्षकमा सार्वजनिक लेखा समितिले २ लाख १० हजार ७ सय २९, सामाजिक विकास समितिले दुई लाख ९ हजार ३ हजार ९२ र विद्यायन तथा प्रदेश मामिला समितिले २ लाख ६६ हजार १ सय ६३ रुपैयाँ खर्चेको हो। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस