१८ वर्ष अघि भएको थियो अनौठो विवाहः अन्तरिक्षमा दुलहा, पृथ्वीमा दुलही
काठमाडौंः तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला। तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ । सन् २००३ को अगस्त १० का दिन रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले इन्टरनेशनल स्पेस स्टेसनमा विवाह गरेका थिए । यस्तो गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।
सन् १९६२ अप्रिल १२ का दिन रुसका यूरी गागरिन अन्तरिक्षमा कदम राख्ने विश्वको पहिलो व्यक्ति बनेका थिए । गागरिनको यस उपलब्धिको वर्षगाँठमा सन् २००३ मा एक पार्टी राखिएको थियो । त्यहीँ नै अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले अन्तिम पटक आफ्नी प्रेमिका कटरिना दमित्रिएवलाई भटेका थिए । अप्रिल २००३ मा रुसको एक्सपीडिसन–७ मिसन लञ्च गरिएको थियो । यस मिसनमा एडवर्ड लूका साथ मालेन्चेङ्को अन्तरिक्षमा गए । यस पूरा मिसनको कमान्ड उनकै हातमा थियो ।
यो मिसन अगस्तको पहिलो हप्ता पुरा हुनुपर्ने थियो । मिसनबाट फर्कने बित्तिकै उनले विवाह गर्ने योजना बनाएका थिए । मिसनमा जान अघि विवाहको मिति १० अगस्तमा तय गरिएको थियो । तर, पछि उनको मिसनको समय अक्टुबरसम्म थप गरियो । विवाहको तयारी पहिले नै गरिसकिएको थियो । त्यसैले यूरी मालेन्चेङ्कोले अन्तरिक्षबाट नै आफ्नो प्रेमिकासँग विवाह गर्ने फैसला गरे ।
तर, यसमा कानुनी अड्चन थियो । रुसमा कानुनी रुपमा विवाह गर्नका लागि दुलहा–दुलही भौतिकरुपमा उपस्थित हुन जरुरी थियो । त्यसैले रुसमा उनीहरू विवाह गर्न सक्दैन थिए । तर, कटरिना लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आएकी थिइन् । टेक्सासमा भने विवाहका लागि दुलहा–दुलहीलाई एकै साथ उपस्थित हुन जरुरी थिएन ।
रुस र अमेरिकाका अन्तरिक्ष एजेन्सीले पनि विवाहमा आपत्ति जनाए । नासाले इन्टरनेसनल स्पेस स्टेसनको प्रयोग निजी कामको लागि प्रयोग गर्न नसकिने बतायो । तर यति बेलासम्म यो खबर मिडियामा फैलिसकेको थियो । यो विवाहलाई लिएर मानिसहरू निकै उत्साहित थिए । अन्ततः नासाले पनि यसका लागि सहमति दिन बाध्य भयो ।
त्यसपछि विवाहको तयारी सुरु भयो । भिडियो कलबाट विवाहको विधि पुरा गर्ने भनियो । मालेन्चेङ्को विवाहमा उपस्थित हुन नसक्ने भएपछि उनको शरीरको आकारको कटआउट बनाइयो । कटरिनाले यही कटआउटसँग सबै विधि पुरा गरिन् । २५ मिनेटसम्म भिडियो कल चलेको थियो । कटरिनाले सेतो रङ्गको सुन्दर गाउन लगाएकी थिइन् । यूरीले आफ्नो स्पेस सुटमाथि टाई लगाएका थिए ।
यसरी अन्तरिक्षमा विश्वको पहिलो र अन्तिम विवाह सम्पन्न भयो । अन्तिम यसकारण कि यसपछि अन्तरिक्ष एजेन्सीले इन्टरनेसनल स्पेस स्टेसनको प्रयोग विवाह वा निजी कामको लागि प्रयोग गर्नबाट रोक लगायो ।