जयसिंहको गाउँमा खाद्यान्न समस्या
दार्चुला: साउन १५ गते दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका जयसिंह धामी तुइन तर्ने क्रममा बेपत्ता भएका थिए। उक्त घटनापछि भारतीय सुरक्षा बल (एसएसबी)ले मालगाउँ जोड्ने तुइन हटाइदिएपछि दार्चुलाको व्याँस क्षेत्रमा खाद्यान्नको समस्या भएको छ।
महाकाली तर्दे गर्दा एसएसबीले फुकालेको भनिएको तुइन अहिलेसम्म जोडिएको छैन। तुइन सञ्चालन नभएपछि व्याँस गाउँपालिका वडा नम्बर २ मालगाउँमा खाद्यसंकट निम्तिने अवस्था सिर्जना भएको छ।
मालघाटमा पुनः तुइन जोड्न भारतीय पक्षले दिएको छैन। गाउँनजिक नेपालतर्फ बजार छैन। तुइन काटिएपछि मालगाउँमा चामल, नुनतेल लगायतका खाद्यान्न अभाव सिर्जना भएको स्थानीय नरेन्द्र धामीले बताए।
व्याँस गाउँपालिका पुग्न नेपालतर्फ सुरक्षित बाटो छैन। मालगाउँमा बजार नहुँदा स्थानीय नागरिकलाई दैनिक उपभोग्य बस्तुको जोहो गर्न भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ।
दार्चुला तिकंर सडक १३ वर्षमा ४४ किलोमिटर मात्रै ट्याक खुलेको छ। तुइन विस्थापन कार्यक्रम अन्तरगत निर्माणाधिन पुलहरु समयमै निर्माण सम्पन्न नहँुदा व्यास क्षेत्रका स्थानीयहरु भारतीय बजारबाट तुइनकै साहारामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दै आएका थिए।