मालिकार्जुन बस दुर्घटना अपडेटः एकको मृत्यु, १८ घाइते
दार्चुलाको मालिकार्जुनबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको छ। १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइते भएका मध्ये १६ जनाको नाम ठेगाना खुलेको छ। गएराती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलाई ल्याएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइतेहरुमा लेकम गाउँपालिका ४ खरकडाका २८ वर्षीया लक्ष्मी कुवर, २५ वर्षीय दौलत कुवर, २५ वर्षीय लक्ष्मी कवर, मालिकार्जुन गाउँपालिका ८ का १५ वर्षीय भुपेन्द्रसिह धामी, २८ वर्षीय गणेशसिह धामी, लेकम गाउँपालिका ४ का ३३ वर्षीय रामसिह बस्नेत, जानकी बस्नेत, लेकम ५ का ३२ वर्षीय नरेश बोहरा, मालिकार्जुन ८ का नगेन्द्र पन्त, १३ वर्षीय लक्ष्मण पन्त, ३५ वर्षीय गोपालसिह धामी, २४ वर्षीय चन्द्र पन्त रहेको प्रहरीले जनाएको छ। यसैगरी अपी हिमाल गाउँपालिका ६ का २५ वर्षीय मंगल महता, मालिकार्जुन ८ का रमेश धामी, ३० वर्षीय हिरेन्द्र धामी, र मृतक अनिल पालका श्रीमति घाइते भएको प्रहरीले जनाएको छ। उद्धार गरिएका सबै घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो। घट्नामा परी सात जना गम्भीर घाइते भएका छन्।
बस सडकबाट तीन सय मिटर तल खसेको छ। बसमा कति जना सवार थिए भन्ने एकिन भएको छैन्। घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरिररहेका छन्। गएराती मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकाएर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घट्नाको पूर्ण विवरण आउन सकेको छैन्।