सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गअन्तर्गत कैलाली खण्डको चौडाइ बढाउन माग

२०७८ साउन २५, ०७:०७ कमल सावद

धनगढी : धनगढी–दिपायल द्रुतमार्गको २३ किलोमिटर सडक कालोपत्रे गर्न जेठमा ठेक्का सम्झौता भयो। वैशाख १५ गते आशयपत्र पत्र सार्वजनिक गरिएकोमा जेठ २५ गते सम्झौता गरिएको थियो। धनगढी–स्याउले १३ दशमलव ४ किलोमिटर कालोपत्रेका लागि भ्याटसहित १८ करोड ५१ लाख ९० हजारमा ठेक्का पाएको खड्का–कृष्ण–नारायण–बंलामुखी जेभीले नाली निर्माणको काम थालेको छ।

स्याउले क्षेत्रमा नाली तथा पर्खाल निर्माणको काम थालिएको निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर बोगटीले बताए। उनले भने, ‘हामीले काम थालेका छौ। पानी नपरेकाले काम गर्न पाएका छौ। ५०/६० जना कामदारहरु छन्।’ यता धनगढी–दीपायल द्रुतमार्गअन्तरगत कैलाली खण्डको चौडाइ बढाउन माग भएको छ।

सडकको १३ दशमलव ४ किलोमिटर सडकको चौडाइ ५ मिटर मात्र हुने गरि ठेक्का सम्झौता भएकोमा स्थानीयले बिरोध गरेका हुन्। उनीहरुले सडकको लक्ष्य चीनको सीमानासँग जोड्ने भएकाले चौडाइसमेत ७ मिटर बनाउन आग्रह गरेका हुन्। धनगढी–स्याउले सडकमा यातायातको चाँपसमेत बढी हुने भन्दै स्थानीयले कालोपत्रे सडकको चौडाइ कम्तिमा ७ मिटरको बनाउन आग्रह गरेका हुन्।

चौडाइमा स्थानीयले बिरोध गरेपछि सडक योजना कार्यालय सडक विभाग पुगेको छ। कालोपत्रे सडक ५ मिटर चौडाइका लागि सम्झौता गरिएकोमा बढाउनका लागि प्रस्ताव सडक विभागमा पेस गरिएको योजना कार्यालयको दाबी छ। धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका प्रमुख खगेन्द्र शाहीले विभागमा प्रस्ताव पेश गरिएको बताए। ‘स्वीकृत भने भएको छैन,’ उनले भने।

धनगढी–स्याउले सडक खण्डको १३ दशमलव ४ र दीपायल–बाजमोड खण्डको ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता भएको छ। डोटीको दीपायल–बाजमोड ९ दशमलव ४ किलोमिटरका लागि १६ करोड ७ लाख ६७ हजारमा सम्झौता भएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस