शैल्यशिखरमा पूजन जात्रा, भोली मालिकार्जुनमा जात्रा लाग्ने
राष्ट्रकै साताै धाम दार्चुलाको शैल्यशिखर मालिकार्जुनमा जिल्लाकै सबैभन्दा ठूलो पुजन जात्रा बुधबार त्रयोदशीको दिन लागेको छ । हालै सार्वजनिक गरिएको देशभरीका एक सय पर्यटकीय गन्तव्यमा पर्ने प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल शैल्यशिखर मालिकार्जुन धाममा पुजन जात्रा लागेको हो । लेकम क्षेत्रको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कार्तिक शुक्ल त्रयोदशी तिथिमा गरी बर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ । हिन्दु धर्मावलम्बिहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखि नै शुद्ध चोखो भोको भएर जाने प्रचलन रहिआएको मालिकार्जुन मन्दिरका मुखिया रुद्रसिह धामीले बताए । समुद्री सतहबाट ३२०० मिटर उचाईमा रहेको शिवालिङगाको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागा श्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको मालिकार्जुन पर्यटन पूर्वाधार विकास समाजका सचिव जनकसिह धामीले बताए ।
शैल्यशिखरमा मालिकार्जुन स्वामीको बासस्थान रहेको स्थानीय देवस्तुतीहरु, झोडो, फाग, अठ्वाली, आदीमा वर्णन गरिएको पाईन्छ । जंगलको बीचमा रहेको हिउँले ढाक्ने यो क्षेत्रलाई हिमशिखर शिवालयको रुपमा समेत व्याख्या गरिएको छ । पहिलो पटक शिखर पूजनमा सहभागि हुने,दर्शन गर्नेहरु भक्तजनहरुले १५ दिनदेखि नै हरेक दिन नुहाउने, एक छाक मात्रै खाने, मासु प्याज, लसुन, मसुर आदीजस्ता कुराहरु नखाने धार्मिक विश्वास रहेको बताईएको छ । मड गाउँबाट पाँच किलोमिटर उचाईमा शिखर रहेको छ । शिखर धाममा पुजन जात्रामा सहभागि हुनको लागि नेपालका सुदूरपश्चिम क्षेत्रका मात्र नभई भारतको उत्तराञ्चल प्रदेश पिथौरागढ, अस्कोट, जौलजीवी, बलुवाकोट आदि क्षेत्रबाट ठूलो संख्यामा भक्तजन एवम् दर्शनार्थीहरु मंगलबारदेखि नै त्यहाँ पुगेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिए । बुधबार राती मालिकार्जुन मन्दिरको भण्डार घरमा राती जागरम बस्ने चलन छ । राती जागरम बसेका भक्तजनहरु आज बिहानै शैल्यशिखरको दर्शनको लागि लागेका छन् । मालिकार्जुनमा पुजन जात्रापछि बिहिबार रातभरी मालिकार्जुन मन्दिर मडमा जिल्लाकै ठुलो जात्रा लाग्ने गर्दछ । त्यसैदिन मालिकार्जुनका देवीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडी लगायत विभिन्न शक्तीपिठहरुमा रातभरी जात्रा लाग्ने गर्दछ ।
द्धितिया तिथिबाट जिल्लाको लेकम क्षेत्रमा सुरु भएका जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको पाती, कुणी लगायत स्थानमा पुर्णिमाको दिन अन्तिम जात्रा लाग्ने गर्दछ । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाई बढी महत्व दिईने गरेको छ । मालिकार्जुन जात्रामा दमाहा बाजा सहित भक्तजनहरुको भीड लाग्ने गर्छ । एक गाउँको दमाहा अर्को गाउँसँग प्रतिस्पर्धा हुने गर्छ । रातभर दमाहा बजाएर विहानीपख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा रिठाचौपाताबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो । यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ । रातभरी जात्रा हेरेर शनिबार बिहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् भने कोहीले बिहानीपख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् । जात्राको लागि घर बाटा टाढा गएकाहरु समेत फर्किने गरेका छन् ।