सुदूर नेपाललाई विश्वसँग जोड्दै

तुइन घटना छानबिन गर्न गएको टोलीविरुद्ध मालघाटमा नाराबाजी

२०७८ साउन २१, ०७:०२ खबर संवाददाता

दार्चुला: साउन १५ गते जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न मालघाट पुगेको टोलीविरुद्ध स्थानीय र नेकपा विप्लव समूहले नाराबाजी गरेका छन्। भारतको बाटो भएर घटनास्थल पुगेको भन्दै करिब ३० जनाको समूहले महाकाली नदी किनारबाट नाराबाजी गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले बताए।  

भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानविन टोली भारतको बाटो भएर गएको भन्दै नाराबाजी गरिएको उनले बताए।  ‘नेपाल र नेपालीको सुरक्षा गर्न नसक्ने सरकार राजीनामा दे, नेपाल र नेपाली माथिको हिंसा बन्द गर’ लगायतका नारा लगाएको अध्यक्ष जोशीले बताए। 

अध्यक्ष जोशी लगायत विप्लवका पाँच जना कार्यकर्ताहरुको टोली दार्चुला सदरमुकामबाट मंगलबार घटनास्थलतर्फ गएको थियो। 

व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो।

गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेको थियो। 

कमेन्ट लोड गर्नुस