डडेल्धुरामा टेलिभिजन खोल्न बोलाएर बालिकामाथि जबरजस्ती करणी प्रयास
धनगढी: डडेल्धुरामा बालिकालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती रहेका छन्।
साउन १५ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै आफन्तले उजुरी दिएपछि खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए। ‘बालिकाका आफन्तले उजुरी दिएपछि उनलाई १६ गते पक्राउ गरेका हौं’ उनले भने, ‘अहिले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिहेका छौ।’
यसअघि पनि ती पुरुषले पटकपटक बालिकामाथि करणी प्रयास गरेको आफन्तले बताएका छन्। ‘त्यो दिन नरबहादुरले बालिकालाई टेलिभिजन खोल्न भनेर बोलाएका रहेछन् तर उनले पहिले पनि दुव्र्यवहार गर्ने भएकाले भान्जी जान मानिनन्’ बालिकाका मामाले भने ‘दिदी(बालिकाकी आमा)ले आग्रह गरेपछि मात्रै भान्जी उनको घरमा गएकी थिइन्। त्यसपछि उनीमाथि जबरजस्ती करणी प्रयास भयो।’
बालिकाका मामाका अनुसार उक्त दिन बालिका घर फर्कन धेरै अबेर भएपछि बुवा ती पुरुषको घर पुग्दा छोरीमाथि जबरजस्ती करणी प्रयास भइरहेको देखेका थिए।