सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बर्सातको समयमा पनि नदीजन्य पदार्थको उत्खनन् रोकिएन

२०७८ साउन १९, ०६:२० कमल सावद

धनगढीः  सरकारले नदीजन्य पदार्थ निकासीमा रोक लगाए पनि कैलालीका नदीबाट अवैध रूपमा उत्खनन् रोकिएको छैन। बर्षातका ३ महिना ढुङ्गा, गिट्टी, बालुवा तथा माटो निकासीमा रोक लगाउने गरिएको छ। 

तर कैलालीका नदीबाट दैनिक नदीजन्य पर्दाथ अवैध रुपमा उत्खनन् हुँदै आएको छ। जिल्लाको गोदावरी नदीबाट मात्र सोमबार राति ३ ट्याक्टर प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेम शाहीले बताए। उनले जिल्लाका विभिन्न नदीबाट दैनिक ट्याक्टर नियन्त्रणम लिँदै आएको बताए। 

यस्तै शनिबार कैलाली प्रहरीले अवैध रुपमा नदीबाट बालुवा ओसारपसार गर्ने ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शनिबार बिहान ७ बजेको समयमा गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित खुटीया खोलाबाट ती ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। 

जिल्लाको गोदावरी, खुटिया, शिवगंगा, गौरीगंगा, कान्द्रा, मोहना, पथरैया, बनहरा लगायतका नदीबाट रातिको समयमा नदीज्य पदार्थ चोरी हुँदै आएको छ। नदीजन्य पदार्थबाट कर संकलन गर्दै आएका स्थानीय तहहरु नदीजन्य पदार्थ चोरी हुँदापनि मौन देखिएका छन्। 

त्यस्तै कारबाही र अनुगमनको अधिकार पाएको जिल्ला समन्वयन समिति उक्त विषयमा  अनभिज्ञ छ। जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले अनुगमन अहिलेसम्म नगरेको बताए। कुनैपनि नदीमा नदीजन्य पदार्थ अवैध उत्खननको सूचना समेत नआएको उनको दाबी छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस