सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयसिंह बेपत्ता भएको मालघाटमा यसअघि ९ जनाले ज्यान गुमाइसकेका थिए

२०७८ साउन १९, ०६:१२ खबर संवाददाता

दार्चुला: यहि साउन १५ गते दार्चुलाको व्याँस गाउँपालिका–२ का ३३ वर्षीया जयसिंह धामी सदरमुकाम जान लागेका थिए। उनले सदरमुकाम खंलगा पुग्न तुइनमार्फत महाकाली तरेर पारी भारत जानुपर्ने र फेरि नेपालतर्फ फर्कनुपथ्र्यो। 

सोही अनुसार शुक्रबार बिहान उनी तुइन भएको मालगाठमा पुगे। उनलाई तुइन सञ्चालक कल्याणसिंह धामीले पारी पुगाइरहेका थिए। तर जयसिंह पारी पुग्न पाएनन्। पारी पुग्न १ मिटर मात्रै बाँकी रहदा जयसिंह महाकालीमा खुसेर बगेको तुइन सञ्चालक कल्याण सिंहले बताएका थिए। कल्याण सिंहका अनुसार पारी बाँधिएको तुइनको फेरो नजिक एक जना भारतीय सीमा सुरक्षा बल(एसएसबी) का जवान थिए। उनकै केही पर हातमा ह्याक्सा ब्लेड समाएका अर्का जवान रहेको कल्याण सिंह धामीले बताइरहेका छन्। 

सञ्चार माध्यममा जयसिंह बेपत्ता प्रकरणको समाचार आइरहँदा अर्को नयाँ तथ्यांक बाहिरिएको छ। गत २८ वर्षमा व्याँस गाउँपालिकाको वडा नम्बर २ र ३ का गरी २६ जना तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले बताए। 

‘२०५० साल यता महाकालीमा तुइन तर्ने क्रममा २६ जनाले ज्यान गुमाइ सकेका छन्’ उनले भने, ‘जयसिंह धामीको तुइन चुँडिएर मृत्यु भएपछि तथ्याङ्क संकलन गर्दा अहिलेसम्म २६ जनाले व्याँस गाउँपालिकाका १० स्थानमा राखिएका तुइन तर्दै गर्दा ज्यान गुमाएको भेटिएको पाइयो।’

वडाअध्यक्ष बुढाथोकीले उपलब्ध गराएको तथ्यांक अनुसार जयसिंह बेपत्ता भएको मालघाटमा  तुइन तर्ने क्रममा ९ जनाको ज्यान गइसकेको छ। जयसिंह लागेर अब त्यो स्थानमा मृत्यु भएकाहरुको संख्या १० पुगेको छ। 

यस्तै तल्ला दुम्लिङ, घाटी बगड, तल्लाफतंगाढ खोला, कल्जु तुइन, बिन्दला तुइन र गोठान दुम्लिङमा रहेका तुइन तर्ने क्रममा अन्य १६ जनाले ज्यान गुमाइसकेका छन्। 

सम्बन्धित समाचार
‘मालघाटमा पुल बनेको भए जयसिंहले ज्यान गुमाउने थिएनन्’
महाकालीमा अझै छन् ११ तुइन

कमेन्ट लोड गर्नुस