संन्यास लिँदै पूर्व कप्तान पारसले भने मनछुने कुरा
काठमाडौं: नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट सुरु गरेका पारसले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।
लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई डोर्याएका ३३ वर्षीय खड्काले सन् २००८ देखि २०१९ सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका थिए। अलराउन्डर खड्का दायाँ हाते ब्याट्सम्यान हुन्, भने बलरका रुपमा दायाँ हाते मिडियम फास्ट बलर हुन्।
अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा उनको त्यो ब्याटिङ र बलिङ देख्न पाइने छैन्। उनले २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका थिए भने १६ वर्षपछि अन्तिम खेल एसीसी इस्टर्न रिजनमा थाइल्यान्डसँग खेलेका थिए। त्यो खेल २०२० को मार्च ४ मा भएको थियो।
उनको नेतृत्वमा रहँदा नै २०१८ मा नेपाली क्रिकेटले एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो। र, उनकै नेतृत्वमा २०१८ मा नेपालका ११ खेलाडीले नेदरल्यान्डविरुद्ध एकैपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा उनको यात्रा टुंगिए पनि नेपाली घरेलु क्रिकेटबाट यात्रा जारी राख्ने खड्काले बताएका छन्। उनले नेपाली क्रिकेटमा आफ्नो सपना बामे सर्दै गरेको बताएका छन्।
उनले अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सम्झँदै लेखेका छन् ‘मैदान भित्रकका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौं भन्ने विश्वास लिएको छु।’
उनले १९ वर्ष लामो क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौषला दिने प्रशिक्षक साथै खेलाडीहरूप्रति सधैँ ऋणी रहने बताएका छन्।
उनले लेखेका छन्, ‘क्रिकेटरका रूपमा मैले आफ्नो मन, बचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ।’
उनले आफ्नो जीवनमा देखेको सपना भनेकै नेपाली क्रिकेटको उन्नती भएको बताएका छन्। त्यसका लागि सबैको क्रिकेटर र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यकता रहको बताए।
उनले लेखेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई आवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउने छौं।’
उनले २०७६ को माघ (१२ फेब्रुअरी २०२०) मा अमेरिकाविरुद्ध अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। सो खेलमा नेपालले अमेरिकालाई १० विकेटले हराएको थियो।