ठेकेदारको लापरवाहीले सिँचाई योजना अलपत्र
निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समय सीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रो पटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ । “आशिष कन्ट्रक्सनलाई दोस्रो पटक काम सक्ने गत फागुन १० गतेसम्म म्याद दिइएको थियो”, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत ईञ्जीनियर ग्रिष्मा ठगुन्नाले भनिन्– “कार्यालयबाट पनि मौखिक र लिखित रुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएनन् ।” सिँचाइ आयोजनाको नहर, कल्र्भट लगायत अन्य पूर्वाधार निर्माणका लागि निर्माण कम्पनीसँग २०७२ असार २५ गते चार करोड १५ लाखका सम्झौता भएको ईञ्जीनियर ठगुन्नाले जानकारी दिए ।
“शुरुवातमा सम्झौता गर्दा विसं २०७३ असोज महीनासम्मको म्याद थियो”, उनले भनिन्– “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो ।” दुवै म्याद सकिएको आठ महिना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखित रुपमा ताकेता गरिएको थियो । “निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तान समेत भइसकेको छ ।” ठगुन्नाले भनिन्– “४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” केही दिन अघि मात्रै निर्माण कम्पनीका सञ्चालक टेकबहादुर सेटी सम्पर्कमा आएको कार्यालयको भनाई छ । सो क्षेत्रको ३०० हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । “ठेकेदारले नहर बनाउन ल्याएका सामान समेत धारापानी क्षेत्रमा अलपत्र छन् ।” दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भने–, “नहरमा पानी बग्ने बेला कामसमेत पूरा नहुनु राम्रो कुरो होइन ।” दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको सिँचाई योजनाको कामको जिम्मा पाएको भीमदत्तनगर स्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ ।
पृथ्वी महरा जेभीले एक करोड २० लाखबढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो । खानेपानीको समस्यासमेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौँदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन् । “बस्तीको उत्तर चुरेमा रहेको धारापानी मुहानबाट सिँचाइ गाउँमा पु¥याउन रकम त आएकै हो”, स्थानीय भट्टले भने– “हामीले निर्माण व्यवसायीलाई बारम्बार सम्पर्क गर्दा पनि टेरेनन् ।” उनले मूल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउनपर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताए । पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उनले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गरे । रासस