सुदूर नेपाललाई विश्वसँग जोड्दै

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

२०७८ साउन १९, ०८:१३ खबर संवाददाता

काठमाडौंः पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन्। 

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु।’ 

नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए। उनको प्रेरणामा नेपाल अन्डर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो।

नेपालका लागि उनले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित ३१५ रन बनाएका छन्। त्यस्तै ३३ टी–२० खेलमा एक शतक र ४ अर्ध शतकसहित उनले ७९९ रन बनाएका छन्। एक दिवसीयमा उनले ९ विकेट तथा टी–२० मा ८ विकेट लिन सफल भएका छन्।
 

कमेन्ट लोड गर्नुस