अरु प्राणी पनि बाचुन् भनेर जलमा दुध चढाइन थालेको हो
धनगढी: चर्चित कथा वाचक पण्डित दीनबन्धु पोखरेलसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
अहिलेसम्म कति जति यज्ञ लगाउनुभयो ? कुन उदेश्यले यज्ञ लगाउनुहुन्छ ?
आध्यात्मिक अभियानबाट समाजको समृद्धिको लागि बहुआयामिकरुपमा २०६३ सालदेखि अहिलेसम्म स्वदेश बिदेश गरेर ६ सय जति यज्ञ सम्पन भए। यज्ञको मुलभुत उद्देश के हो त भन्दा खेरी एउटा त आध्यात्मिक चिन्तन र पौराणिक आख्यानको व्याख्या गरेर जनजनबाट जागरण पैदा गरेर प्राप्त भएका दानहरुबाट एउटा व्यक्ति होइन समाजको सेवा गर्ने। आध्यात्मिकताको माध्यमबाट भौतिक समृद्धि गर्ने। स्कुल बनाउने, कलेज बनाउने, अस्पताल बनाउने आदि।
आध्यात्मिकता बनेको मन्दिर जाने, व्रत बस्ने, पाठपुजा गर्ने इत्यादिलाई मात्रै भन्ने चलन छ। तर यो होइन यसमा आध्यात्म भनेको आफ्नो खोजी हो। आफूभित्रको शान्तिको अनुसन्धान हो। हामी आफुले नबुझिकन संसार बदल्छु भन्नु दिवा सपना हुन्छ। त्यस्तै भौतिकवाद भन्नाले बाह्र नियमहरुलाई अनुशिलन गर्नु हो। त्यसैले यी दुइटाकै समायोजन भयो भने मात्रै जीवन जगत सुरम्य बन्छ भन्ने हाम्रो आदर्श हो। तद अनुरुपनै अगाडि बढेर देश अनि बिदेशमा ६ सय भन्दा बढी यज्ञ संचालन गरेका छौं।
आध्यात्मिकता र भौतिक वादको समायोजनले जीवन अगाडि बढाउनुपर्छ भन्ने बोध कसरी भयो ?
म भौतिकवादको विद्यार्थी पनि हो। सानैमा थोरै विज्ञान पनि पढेको। पछि अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेको। पूर्वीय दर्शन पनि हेरेकोद हुँदा भौतिकतातिर पनि पृष्ठभूमि रह्यो। तर पनि जिवनमा भौतिकवाद भन्दा आध्यात्मिकताको पल्ला थोरै भारी हुन्छ भन्ने विश्वास गर्ने मान्छे। विशेषत; मेरो इच्छा पनि हो। त्योभन्दा पनि बढी मेरो पिताजीको विरासत हो। उहाँको अवसानपछि उहाँको बिचारलाई नवीनतम अझ नयाँ अभ्यासको साथमा समाज परिवर्तनको लागि मैले प्रयोग गर्नुपर्छ। र, यो विरासतमा म चाहिँ यात्रा गर्नुपर्छ भन्ने सोच पनि म मा आयो। परिवारिक वातावरणको कुरा पनि यसमा जोडिन्छ।
मेरो हजुरआमाले पनि मलाई प्रेरणा दिनुभयो। पिताका देश विदेशका अनन्य भक्त जनहरुको पनि उत्प्रेरणा मिल्यो। म आफैभित्र पनि एउटा चाहना जाग्यो। समृद्धिका लागि केही गर्नपाए हुन्थ्यो। यसरी सबैभन्दा सन्तुलित, सबैभन्दा राम्रो, सबैभन्दा समाज मिलाउने पाटो चाहिँ पिताले लिएको अभियान जस्तो लाग्यो। म राजनीतिमा पनि प्रवेश गर्न सक्थे। या मैले अन्य विद्याबाट पनि समाज सेवा गर्न सक्थे। यो विदाबाट प्रेम सद्भाव जागरण सकारात्मक उर्जाको प्रबन्ध, एउटा जनमानसमा समाजिक चिन्तनको भाव समाहित गर्ने प्रक्रिया यी सबै चिजको मिश्रण र बहुआयामिकता अनुभव पाएको हुनाले यो अभियानमा म लागे।
दुध, जल चढाउने कुरा विवादास्पद छ। यसलाई कसरी लिनुहुन्छ ? दुध चढाउनुको महत्व के हो ?
केही व्यक्तिहरु नेपालको धर्म संस्कृति, परम्परा चाहिँ कमजोर गराउन लागि परिरहेका छन्। को कहाँबाट परिचालित छन् त्योपनि थाहा छ। यस विषयमा म बढी केही भन्न चाहन्न। साउनमा दुध चढाउनुको अर्थ साउनमा विशेष सर्पजन्य जीवहरु बाहिर आउने हुन्छ। ती पनि बाचुन भन्ने भावले दुध चढाउने गरिन्छ। दुध गंगामा त्यसै चढाइएको होइन। दुध भनेको अमृत हो। अमृतजन्य चिजलाई जलचर प्राणीले पनि पिएर तृप्त हुन भन्ने हो। खाना खानुभन्दा पहिलाको एक गास चाहिँ हामी गाईका लागि राख्छौ। कहिल्यै चराचुरुङ्गीलाई पानी दिन्छौं। कहिले चराचुरुङ्गीलाई आहारा दिने गर्छौ।
यी परम्पराबाट सबै बाचुन सबै हासुन, सबै नाचुन भन्ने किसीमबाट हामीले त्यसलाई बोध गरेको कुरा हो। त्यहीँ भएर हाम्रो दर्शनले समाज बनायो दर्शनले त्यही सिकायो। त्यही भएर दुध चढाउन लाग्यौं। कसैले चाहिँ अन्धता भनेर नराम्रो व्याख्या गरे तर यसको विज्ञान भनेको अरु प्राणी पनि बाचुन, अरु प्राणी पनि रहुन भन्ने हो।
सनातन धर्ममा छुवाछूत छ, यसले कुनै समुदायलाई विभेद गरेको छ भनिन्छ यो कतिको साचो हो ? किन छ यस्तो ?
सनातन धर्ममा कसैले विभेद छ भन्छ भने त्यो मुर्खता बाहेक केही होइन। न वेदले छुवाछूतको कुरा गरेको छ। न पुराणले छुवाछूतको कुरा गरेको छ। तर केहीले मनुस्मृतिको कुरा ल्याउछन र छुवाछूत छ भन्छन्। मैले बारम्बार भनेको छु मनुस्मृति धर्म ग्रन्थ होइन। मनु भनेको त त्यति वेला शासक हो उसले बनाएको विधान हो।
नेपालको अहिलेको विधान संसोधन गर्न सकिन्छ भने त्यो अध्यावधिक गर्न मिल्छ। त्यो बेला समाजलाई व्यावस्थापन गर्ने नाममा आफ्नो शासन टिकाउने नाममा राणा शासनमा पनि जात व्यवस्थालाई कायम गरे मुलुकी एन बनाए। अब राम शाहले लेखेको विधानलाई हिन्दु शास्त्र भन्न मिल्छ ? जयस्थिती मल्लले लेखेको कुरालाई भन्न मिल्छ ? त्यसैले धर्मले गुण र कर्मका आधारमा वर्ण चार किसीमले छुट्याइएको छ। जन्मको अधारले हुँदैन भनेर वेदले भनेको छ। गीताले बोलेको छ। दर्शनले बोलेको छ। मनुस्मृतिलाई लिएर हिन्दु धर्म यहि नै भन्नु चाहिँ पुच्छरलाई छोएर पुरै हात्ती यहीँ हो भन्नू जस्तै हो।
(पुरै अन्तरबार्ता दिनेश खबरको युट्युब च्यानलमा हेर्न सक्नु हुन्छ)