कैलालीको गर्भादरबार संरक्षणका लागि विनियोजन गरिएको ५० लाख फ्रिज
धनगढीः कैलालीको गर्भादरबार घेरबारका लागि गत आर्थिक वर्षमा विनियोजन गरिएको ५० लाख फ्रिज भएको छ।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ गर्भास्थित गर्भादरबारको घेरबार, प्रवेशद्वार निर्माण तथा शौचालय निर्माणका लागि गत आर्थिक वर्षमा ५० लाख प्रदेश सरकारले विनियोजन गरेको थियो।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन विकास समन्वय इकाईका प्रमुख भोजराज पाठकका अनुसार उपभोक्ता समिति गठनमै स्थानीयबिच कुरा नमिलेकाले ५० लाख खर्च भएको छैन। पाठकले भने, ‘गत आर्थिक वर्षमा गर्भादरबार घेरबारका लागि ५० लाख थियो। म प्राविधिकसहित गएको थिए। ३० लाखको स्टिमेट बनाएका थियौं। तर उहाँहरुले उपभोक्ता समिति गठनमा विवाद गर्नुभयो। ठेक्का गर्न समय भएन।’
चुरे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्ण मल्लले भने प्रदेश सरकारले गाउँपालिका र वडा कार्यालयसँग समन्वय गर्न नसक्दा रकम फ्रिज भएको बताएका छन्। ‘उहाँहरुले हामीलाई औपचारिक पत्र समेत पठाउनु भएन्। पर्यटनका प्रमुखसमेत आउनुभएको थियो। तर कुन कुरा मिलेन, काम भएन्।’
गर्भादरबार संरक्षणका लागि विनियोजन गरिएको उक्त रकम खर्च नभएपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरुले प्रदेश सरकार र गाउँपालिकाबिच कुरा नमिल्दा ५० लाखको उक्त योजनाको रकम खर्च बताइरहेका छन्।
गर्भा राणाकालीन दरबार हो। खडकशमशेर रााणाले विस १९८४ मा निर्माण गरेको उक्त दरबार संरक्षणको प्रखाईमा छ। धनगढीबाट ४५ किलोमिटरको दूरीमा रहेको गर्भा प्राकृतिक रुपमा सुन्दर र पर्यटकीय क्षेत्र हो।