दुईजना घरधनीका कारण सडक कालोपत्रे भएन
दुईजना घरधनीले संरचना हटाउन अटेरी गरेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर एकको पशुपति टोल सडक कालोपत्रेको काम अलपत्र परेको छ। पशुपति टोलका अन्य स्थानीयले सो सडकमा पर्ने संरचना भत्काएपनि व्यापारी एदु सुनार र धनबहादुर विकले अटेरी गरेपछि सडक कालोपत्रेको काम अलपत्र परेको छ।
स्थानीय सरापद अहमदले विकासका लागि आफूहरुले गत फागुनमै संरचना भत्काए तर दुईजनाका कारण काम रोकिएको बताउदै उनीहरुले संरचना नभत्काए सडक बन्द गर्ने चेतावनी दिए। यता संरचना नभत्काउने मध्येका धनबहादुर विकले उपमहानगरपालिकाले सडकको विचबाट नाप नगरेको आरोप लगाए।
उपमहानगरपालिकाले सडकको सेन्टरबाट नाप नगरीकन आफ्नो तीर बढि जमिन क्षती गराउन खोजेकाले संरचना नभत्काएको बताए। धनगढी उपमहानगरपालिकाले सडकको दायाबाँया कति छोड्ने भन्ने विषयमा भएको विवाद साम्य पार्ने प्रयास भइरहेको जनाएको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले विक र सुनारको परिवारविच कसले कति ठाँउ खाली गर्ने विषयमा भएको विवाद समाधान गरिने यदि अटेरी गरेमा डोजर लगाएर भएपनि संरचना भत्काईने बताए।
स्थानीयकै विरोधका कारण यसअघि १२ मिटर चौडाइ रहेको सडकलाई घटाएर उपमहानगरपालिकाले ९ मिटर कायम गरेको छ। सो आउँदो असार मसान्त भित्र सडक कालोपत्रे गर्ने गरी रोयल कन्सट्रक्सनले काम गरिरहेको छ। उक्त सडकको लम्बाई १७ सय मिटर मात्रै रहेको छ।