कर्णाली नदीमा गाडी खस्दा घाइते भएका तीनजना नेपालगञ्ज रेफर
धनगढीः कैलालीको कर्णाली नदीमा गाडी खस्दा तीनजना घाईते भएका छन्। यस्तै पाँच जना सवार रहेको उक्त गाडी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। बेपत्ता भएका दुबैजनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले दिनेशखबरलाई जानकारी दिए।
गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश जोशी र रुपी जोशी बेपत्ता रहेको एसपी अधिकारीले बताए। उद्दार गरिएका तीनै जनाको अवस्था जटिल रहेकोले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज रेफर गरेको उनले बताए।
डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टीएको प्रहरीले जनाएको छ। जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कार्णालीमा खसेको हो। प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको छ।