सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पानी निकासबारे अध्ययन गर्न मन्त्रालयले टोली पठाएको हल्ला मात्रै !

२०७८ साउन ११, ०६:३५ कमल सावद

धनगढी : धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले बिहिवार भौतिक पूर्वाधार शाखालाई पत्र लेख्दै परामर्श दाताको समूहलाई सहयोग गर्न ६ सदस्यीय कार्यदल गठन गरेको पत्र सार्वजनिक गरे।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्श दाता कम्पनी पठाउने भन्दै सहयोगका लागि प्रमुख प्रशासकीय अधिकृत चन्दले प्राविधिक समूह तयार पारेको पत्रमा उल्लेख गरेका छन्। मोहनापुल–अत्तरिया ६ लेन सडकको दाँया–बाँयामा पर्ने वडा नम्बर २, ३, ४ र १३ को डुबान समस्या समाधानका लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्श दाता कम्पनी पठाउने उप–महानगरपालिकाले बताएको थियो। 

यता मन्त्रालयले उक्त बिषयमा छलफलसमेत नभएको जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले उक्त बिषयमा कुनै छलफलसमेत नभएको जानकारी दिए। ‘मेरो बिचारमा यो पानी निकासको काम शहरी विकास मन्त्रालयले हेर्छ। हामीले हेर्ने भनेको– सडक मात्रै हो। पानी निकासका लागि हामीले कसैसंग सम्झौता गरेका छैनौ। कसैलाई पठाउने पनि भनेका छैनौ,’ उनले भने। 

तर उपमहानगरपालिकाले भौतिक पूर्वाधार मन्त्रालयले खटाएको परामर्श दाता कम्पनीलाई सहयोग गर्न प्राविधिकको समूह तयार पारेको जनाएको छ। एक जना प्राविधिक फिल्ड भिजिटका लागि आएर फर्किएको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए। उनले भने, ‘साइड हेर्न एक जना आएका थिए। केहि दिनमा पूरै टिम आउँछ भनिएको छ।’

एक जना प्राविधिक पनि प्राम्भिक अध्ययन गरेर काठमाडौँ फर्किसकेको उपमहानगरपालिकाको दाबी छ। बाँकी टोली केही दिनभित्र आउने दाबी धनगढी उप–महानगरपालिकाका इन्जिनियर द्धीजराज भट्टको दाबी छ। उनले भने, ‘सम्झौताको चरणमा गएको होला। सम्झौता सिधै हुन्छ। पुरानो पानी बग्ने ठाउँको अध्ययन हुन्छ। वडाध्यक्ष र स्थानीयसँग छलफल हुन्छ।’
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस