सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्य सडकको कालोपत्रे झरीले बगायो, करोडको लगानी ७ महिना टिकेन

२०७८ साउन ९, ०६:५२ कमल सावद

धनगढी : धनगढी उप–महानगरपालिकाले झण्डै करोडको लागतमा मुख्य सडकमा गरेको कालोपत्रे साउने झरीले बगाएको छ। उप–महानगरपालिकाले ठेक्का सम्झौता गर्दै मर्मत गरेको मुख्य सडकअन्तरगत कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालयसम्मको खण्डमा साउने झरीले कालोपत्रे बगाएको हो। 

झण्डै करोडको लागतमा मंसिरमा मर्मत सम्पन्न भएको सडक ७ महिना मात्रै टिकेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ८ धनगढी गाउँका वीरेन्द्र रानाले सडकमा परेका खाल्टाखुल्टीले अटो सञ्चालनमा समस्या भएको बताए। ‘केही समय अगाडि मात्रै सडक मर्मत भएको थियो,’ उनले भने, ‘फेरि ठाउँठाउँमा सडक भत्किएको छ। धेरै ठाउँमा त कालोपत्रे पानीले बगाएको छ।’

सडक बोर्ड नेपालको ७० प्रतिशत अर्थात ६७ लाख १५ हजार र धनगढी उप–महानगरपालिकाको ३० प्रतिशत अर्थात २८ लाख ७७ हजार गरी ९५ लाख ९३ हजार खर्चेर उपमहानगरपालिकाले धनगढीको मुख्य सडक कालोपत्रे गरेको थियो। कैलालीपुलदेखि एलएन चोकसम्मको मुख्य सडक सबैभन्दा बढी भताभुङ्ग भएको अर्का स्थानीय प्रदीप चौधरी बताउँछन्। ‘सात महिना पनि नटिक्ने सडक बनाएर उपमहानगरपालिकाले कस्तो उदाहरण पेस गर्न खोजेको होला,’ चौधरीले भने, ‘फेरि एक वर्षा भएसपछि त नयाँ गरिएको कालोपत्रे पूरै बगाउँछ जस्तो छ।’

धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धीजजराज भट्टले नालीको पानी सडकमा बगेकाले सडक भत्किएको बताए। उनले भने, ‘नालीमा पानी नबगेर सडकमा बगेको हामी देख्छौ। गाडी चल्दै जाँदा उप्किने, बिग्रीने गरेको छ। निर्माण कम्पनीको धरौटी फिर्ता भएको छैन। फिर्ता हुनुभन्दा अगाडि ठूला खाल्टाखुल्टी मर्मत गरिन्छ। हामीले वर्षाैदेखि मर्मत गर्दै आएका छौ।’

धनगढी उप–महानगरपालिकाले मुख्य सडक मर्मतका लागि २०७६ फागुन २१ गते मल्ल निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो। ०७७ को असार मसान्तसम्म सडक मर्मतको काम सक्नुपर्नेमा निर्माण कम्पनीले मंसिरमा मात्र कालोपत्रेको काम पूरा गरेको थियो। कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालयको पुलसम्मको एक हजार सात सय ७० मिटर सडक मर्मत सम्भार तथा एक सय २० मिटर नाली निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस