हे युवा इतिहासकार बन्ने होइन ?
-यमराज जोशी
धेरै परको कुरा नगरौ, विर नेपालीका विरताका कथाहरु कैयौं पढियो, कैयौ सुनियो। टुक्रा–टुक्रामा विभाजित देशलाइ आफू टुक्रा भएर पनि एक बनाएर गएका विर नेपालीहरुका इतिहास खोज्ने हो भने ठूलै लिस्ट बन्नु पुग्छ।
विभिन्न कालखण्डमा विभिन्न किसिमका व्यवस्था र व्यक्तिहरु उच्च तहमा पुगे र उनीहरुले आफ्नो विवेक र क्षमता अनुसारका काम गरेर गए। व्यक्तिले के पायो र देशले के पायो त्यसको समीक्षा आज हामीले गर्दै छौ र भोलि अर्को पुस्ताले पनि गर्ने नै छ। जुन बेलामा जुन कुराको आवश्यकता पर्छ त्यसको समिक्षा गरिन्छ। पृथ्वीनारायण शाहले गरेका बाइसे चौविसे राज्य एकिकरण जस्ता कैयौ इतिहासका महत्वपूर्ण घटनाहरु हामी बारम्बार पनि सम्झिने गर्दछौ र त्यसको समीक्षा पनि गर्दछौ। यी घटनाहरूलाई उदाहरणका रूपमा पनि प्रस्तुत गर्ने गर्दछौ । समयले इतिहास निर्माण गर्छ र इतिहासले व्यक्तिको उदय गर्छ।
अहिले सत्तामा रहेका नेता ओली, देउवा, प्रचण्डहरु विस २०४०/५० देखि नै राजनीतिको अग्र मोर्चाम छन्। अहिले उनीहरुको उमेर करिब ७० देखि ८० को बीचमा छ। भनेपछि उनीहरू त्यतिबेलाको उमेर भनेको ३५ देखि ५० को बीचमा रहेछ। तर पनि उनीहरुले यति हस्तक्षेपकारी भुमिका खेलेका रहेछन् कि निरंकुश राजतन्त्र हुँदैहुँदै पनि त्यसको विरुद्धमा बुलन्द आवाज उठाइ जनताका अधिकार प्राप्तिका लागि कैयौ विद्रोह समेत गरे।
त्यो विद्रोहले उनीहरुको जीवन समाप्तसम्म हुन्छ भन्नेकुरा प्रष्ट थाहा हुँदाहँुदै पनि झुकेनन्। जसको असर अहिलेसम्म पनि देखिन्छ। एकातिर व्यवस्था परिवर्तन लोकतान्त्रिक मुलुकको निर्माण र अर्कोतिर उनीहरुको व्यक्तिगत शारीरिक समस्या।
शेरबहादुर देउवाको जिब्रोमा करेन्ट लगाएको कुरा छ। उहाँको बोलि प्रष्ट आउँदैन। ओलीले १४ वर्ष जेलभित्र कष्टकर जीवन बिताएका कुरा जसका कारण किड्नीमा समेत असर पुग्यो भन्ने सुनिन्छ। प्रचण्डको त झण्डै टाउकै काट्ने आदेश थियो रे मुल्य तोकेर। लगायत तमाम यस्ता उदाहरण छन्। कसैले उनीरुको जीवनशैलीमा प्रश्न पनि उठाउलान त्यो चारित्रिक कुरा भयो। कैयौले शहादत प्राप्त गरी अहिले देशका शहिदको रुपमा हामी सम्मान गर्ने गर्दछौ। अझै दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, र गंगालाल श्रेष्ठ लगायत कैयौ बिर शहिदहरुलाई त बीच बाटोमै गोली हानी हत्या गरियो।
यति देख्दा–देख्दै सुन्दा–सुन्दै पनि नेताहरुले बोल्न छोडेनन्। जननेता मदन भण्डारी जसको बिचार जनताको बहुदलीय जनवाद आजका दिनसम्म यो देशको सुन्दर भविष्यको निर्माण गर्ने विचार हो, त्यसका प्रतिपादक थिए र जीवराज आश्रित जो अहिलेकै नेताहरुका सहकर्मी समेत थिए। उनीहरुको पनि हत्या गरियो।
यति हुँदाहुँदै पनि शेरबहादुर देउवा २०५२ सालमै प्रधानमन्त्री हुन सफल भएका थिए। केपी शर्मा ओली २०५१ सालमै मनमोहन अधिकारी कै सरकारको गृहमन्त्री भइसकेका थिए। माधव नेपाल पार्टीको नेतृत्व सम्हालिरहेका थिए। प्रचण्ड लगायतका नेता विद्रोहमा थिए। आजका दिनसम्म पनि उनीहरु एकछत्र सत्तामा छन्। उनीहरुको कहिकतै नियतबस अथवा चरित्रले खराब भए होलान त्यसको परिणाम पनि उनीहरुले भोग्नुपर्छ। तर पनि त्यो साहस र क्षमता र त्यागको उच्च सम्मान गर्नैपर्छ।
यो कुरो कता जोडिएको छ भने तिनै नेताकापछि लागेर, सिकेर अहिले नेतृत्व गरिरहेको युवा पुस्ता यति कमजोर भयौं कि, यति असक्षम भइदिएकी उनीहरु तिनै नेताका कुरामा हो मा हो मिलाएर बस्न शिवाय अरु केहि पनि गर्न नसक्ने भइदिए।
घरमा बुढा बाआमालाई तपाइ आराम गर्नुस अब दुःख नगर्नुस भन्न सक्छन्, तर आफ्नै अगुवा नेतालाई ल तपाईहरु आराम गर्नुस अब हामी यो देशको जिम्मा लिन्छौ तपाइहरुले देखाएको बाटोलाइ पछ्याउदै नया ढंगले नया भिजनका साथ अगाडि लैजान्छौ, समय परिवर्तन भइसक्यो अलिकति परिमार्जित विचार र शैलिले काम गर्नुपर्छ अब त्यो हामी गर्छौ सम्म भन्न सकिरहेका छैनन्। झन उनीहरु कहिले सत्तामा पुग्लान र हामीलाई पनि पछि–पछि लगेर जालान, अलि झार्देलान र टिपौला झै बसेका छन्। यसको अर्थ उनीहरु असक्षम हुन ?
पक्कै असक्षम होइनन् तर कृत्रिम असक्षम बनेका हुन्। कोही लोभमा, कोही आदर्शमा, कोही बाध्यताले असक्षम भइरहेका छन् यो उपयुक्त हो त ? गम्भीर प्रश्न खडा भएको छ। केही सत्ताभन्दा बाहिर रहेका युवाहरु बैकल्पिक बाटोबाट यी समस्याको समाधान खोजिरहेका छन्।
तर सत्तासँग जोडिएका युवाहरु यी विभिन्न कारणले पन्छिन खोजिरहेका छन्। यसले इतिहास राख्ला त ? देश बन्ला त ? हाम्रो भावी पुस्ताको सुन्दर भविष्यको निर्माण होला त ? इतिहासले हामीलाई के भनेर सम्झन्छ होला सोचौ त !
त्यसैले अग्रजहरुलाई सम्मानसहित विश्राम गर्न लगाएर नयाँ पुस्ताले हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने बेला आएको छ। देश र हाम्रो भावी पुस्ताको सुन्दर भविष्यको लागि। कुनैखालको प्रलोभनले, आशाले कतै इतिहास बन्ने अवसर गुमाइरहनु भएको छ भने छोड्नुस। सब त्यो क्षणिक हो, र आउनुहोस् हातेमालो गरौं नयाँ इतिहासले पर्खिरहेको छ हामीलाई।