मसुरिया–हसुलिया सडक कालोपत्रेको काम अलपत्र, म्याद सकिँदा १२ प्रतिशत भौतिक प्रगती
धनगढी: कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियादेखि कैलारी गाउँपालिकाको हसुलिया जोड्ने सडक कालोपत्रेको योजना अलपत्र परेको छ। सडक डिभिजन कार्यालय कञ्चनपुरमार्फत हसुलिया खण्डमा ५ वटा कालोपत्रेका ठेक्का भएका छन्।
निर्माण कम्पनीले सम्झौता अवधिमा सडक निर्माणको काम पूरा नगर्दा अहिले आवतजावतमा सास्ती भइरहेको छ। निर्माण अवधि सकिएको भएपनि भौतिक प्रगती भने १२ प्रतिशत मात्रै पुगेको छ। पूर्व–पश्चिम राजमार्गको बढैपुरदेखि हुलाकी राजमार्गको हसुलियासम्म १९ किलोमिटर लम्बाई रहेको मसुरिया–हसुलिया सडकमा हिलोका कारण स्थानीयलाई हैरानी भएको हो।
कैलारी गाउँपालिकाको कार्यालय रहेको हसुलियासम्म जान स्थानीयलाई सबैभन्दा बढी हैरानी हुने गरेको छ। पूर्व–पश्चिम राजमार्गदेखि कैलारी गाउँपालिकाको लौसासम्मको ३ किलोमिटर सडक कालोपत्रे गरिएकोमा १६ किलोमिटर बाँकी छ। स्थानीय कुल्कु चौधरीले हिलोको कारण हैरान भएको बताए। उनले भने, “हिलोका कारण सडकमा हिँड्न समस्या छ। गाडीहरु फसिरहेका हुन्छन्। ठेकेदार आएको छैन। धेरै भयो। अब त आफैलाई लाज लागिसक्यो, घर अगाढीको सडक देखेर।”
जिल्लाको गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उप–महानगरपालिका जोड्ने प्रमुुख सडक कालोपत्रेका २०७७ असार ७ गते ५ वटा ठेक्का सम्झौता गरिएका छन्। निर्माण कम्पनीले तोकिएको समय २०७७ चैत १५ गतेसम्ममा काम पूरा नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीले बताए। उनले भने, “तोकिएको समयमा काम भएको छैन। थप समय माग्नु भएको छ। तर दिइएको छैन।”
उक्त सडक कलोपत्रेका ४ ठेक्का बीबीएस कन्स्ट्रक्सनले पाएको छ भने एक ठेक्का मल्ल निर्माण सेवाले पाएको छ। हसुलियादेखि उत्तर १ दशमलव ३ किलोमिटर सडक कालोपत्रेका लागि ३३ लाख ६१ हजार, १ दशमलव २ किलोमिटर सडक कालोपत्रेका लागि २८ लाख ३८ हजार, १ किलोटिर सडक कालोपत्रेका लागि १८ लाख ८४ हजार र ८ सय ७५ मिटर सडक कालोपत्रेका लागि बीबीएस कन्स्ट्रक्सनले ठेक्का पाएको हो।
नौ सय मिटर सडक कालोपत्रेका लगि ११ लाख ३६ हजारमा मल्ल निर्माण सेवाले ठेक्का पाएको हो। बीबीएस कन्स्ट्रक्सनका सञ्चालक बासु आर्चायले वर्षात भएकाले सडक निर्माणको काम रोकेको बताए। उनले सरकारले सडक निर्माणको समय थप गर्ने बताए। निर्माण कम्पनीले तोकिएको समयमा १२ प्रतिशत मात्र भौतिक प्रगति गर्न सकेका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगरले म्याद थप गरेको छैन।