सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामकी सुत्केरी व्यथा लागेकी महिलाले स्ट्रेचर पनि पाइनन्

फोटो : निराकरणखबर
फोटो : निराकरणखबर
२०७८ असार २१, ०३:४३ खबर संवाददाता

अछाम:  सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न क्षेत्र सडक सञ्जालसँग जोडिएपछि धेरै बिरामीहरुले एम्बुलेन्स सेवा पाइरहेका छन्।

झन सुत्केरी व्यथा लागेकी महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टर उपलब्ध गराउने गरेको छ। जसअनुसार विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकाहरुलाई हेलिकोप्टरमार्फत उद्वार गरिन्छ। 

तर अछामकी एक गर्भवतिले एम्बुलेन्स त कहाँ हो कहाँ सामान्य स्ट्रेचर समेत पाएकी छैनन्। जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटीमा रहेको बर्थिङ सेन्टरमा स्वास्थकर्मी र स्वास्थ्य सामग्री नहुँदा दर्बाकी सविता बुढालाई झोलुङ्गोमा बोकेर स्वास्थ्य संस्था लग्नुपरेको छ।

शुक्रबार सुत्केरी व्यथा लागेपछि बर्थिङ सेन्टर पुर्याएकी उनलाई १ घण्टा बोकेर त्यहाँबाट बगुडा उप–स्वास्थ चौकी लग्नुपरेको उनका श्रीमान जगत बुढाले बताए। ४ महिना अगाडि नै मात्रै उद्घाटन गरिएको ठाटी बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी मात्र नभएर सामान्य स्ट्रेचर समेत नभएको उनले बताए। 

मेल्लेखको ठाटी दर्बामा सडक सञ्जाल पुगेपनि वर्षाले सडक अवरुद्ध हुँदा सुत्केरी व्यथा लागेकी सवितालाई झोलुङ्गोमा बोकेर उप–स्वास्थ्य चौकी लगिएको स्थानीयले बताएका छन्। 

यस विषयमा मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बर्थिङ सेन्टरमा आवश्यक सम्पूर्ण सामग्री भएको बताएका छन्। ‘बिरामी बोक्ने स्ट्रेचर केहिदिन अघि भाचिएकाले नयाँ स्ट्रेचर पठाइसकेको छ’ उनले भने।  

कमेन्ट लोड गर्नुस