यातायात व्यवस्था कार्यालय कैलालीले पुनः सेवा सुरु गरेपनि लाइसेन्सको परीक्षा सञ्चालनमा अन्यौलता कायमै

धनगढीः यातायात व्यवस्था कार्यालय कैलालीले पुनः सेवा सुरू गरेपनि झण्डै दुई महिनादेखि ठप्प रहेको लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लाग्न सकेका छैन।
दोस्रो लहरको कोरोना भाइरस फैलिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। योसँगै यातायात व्यवस्था कार्यालय कैलालीले सम्पूर्ण सेवा बन्द गरेको थियो। कोरोना संक्रमण दरमा केही कमी आउन थालेपछि निषेधाज्ञा खुकुलो बनाउँदै विभिन्न क्षेत्रहरु विस्तारै खुल्न थालेका छन्।

यातायात व्यवस्था कार्यालय कैलालीले पनि सवारी साधनको नवीकरण, दर्ता तथा नामसारीलगायतका सेवाहरू पुनः सुरू गरेको छ। तर झण्डै दुई महिनादेखि ठप्प रहेको सवारी चालक अनुमती पत्र लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लाग्न सकेका छैन।
.jpeg)
यातायात व्यवस्था कार्यालय कैलालीका निमित्त प्रमुख लक्ष्मण शाहले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरूको पालना गरी सवारी साधनको नवीकरण, दर्ता तथा नामसारीलगायतका सेवाहरू पुनः सुरू गरिएको बताए। ’निषेधाज्ञा जारी भएसँगै सम्पूर्ण सेवा बन्द गरेका थियौँ।’ उनले भने, ’अहिले खुकुलो भएपछि नवीकरण, दर्ता तथा नामसारीलगायतका सेवाहरू पुनः सुरू गरेका छौँ। लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लागेको छैन।’

यातायात व्यवस्था कार्यालय कैलालीको तथ्याङ्कअनुसार सवारी चालक अनुमती पत्रका लागि दुई हजार २२५ जनाको लिखित परीक्षा बाँकी रहेको छ। जसमध्ये मोटरसाइकल तथा स्कुटरका १ हजार ४०४ जना, जीप तथा कारका ५८२ जना, अटोरिक्साका १४६ र ट्र्याक्टरका ६४ जना रहेका छन्।


लिखित परीक्षा दिएर प्रयोगात्मक परीक्षा दिन नपाएकाको संख्या पनि धेरै छ। लाइसेन्सको प्रक्रियामा रहेकाहरूको लागि पर्खाइको विषय भए पनि तत्कालै लिखित परीक्षा र ट्राइल हुने सम्भावना नदेखिएको उनले बताए।
यातायात व्यवस्था कार्यालय कैलालीमा स्मार्ट लाइसेन्सका लागि ७२ हजार ३१० जनाले आवेदन दिएका थिए। तीमध्ये ६० हजार स्मार्ट लाइसेन्स प्रिन्ट भइसरेको छ भने १२ हजार ३१० प्रिन्ट हुन बाँकी रहेको छ। प्रिन्ट भइसकेका मध्ये ४२ हजार २१० जनालाई स्मार्ट लाइसेन्स वितरण गरिएको छ।
कार्यालयमा रहेका ५ हजार २५५ स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी छ। यातायात व्यवस्था कार्यालय कैलालीबाट सुदूरपश्चिमका सबै जिल्लाका सेवाग्राहीले सेवा लिने गरेका छन्।