सुदूरपश्चिममा पर्यटन पूर्वाधारका नाममा जंगलमा भ्यू–टावरका योजना !
धनगढी: सुदूरपश्चिम सरकार गैरकानूनी रुपमा जंगल क्षेत्रमा भ्यू–टावर निर्माण गर्दै आएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जंगलको स्वकृती बिना भ्यू–टावरका योजना कार्यान्वयन गर्दै आएकोमा आगामी आर्थिक वर्षका लागि समेत जंगल क्षेत्रमा भ्यू–टावर निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
चालु आर्थिक वर्षका भ्यू–टावरका योजना पूर्ण कार्यान्वयन नभएका बेला प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को बजेटमा भ्यू–टावरका योजना ल्याएको हो। मन्दिरका योजना धेरै राखेको भन्दै आलोचित प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्यू–टावरका योजनाको संख्या समेत धेरै राखेको छ। भ्यू–टावरका लागि जंगल छनौट गरिएकाले योजना कार्यान्वयनमा समेत चुनौति रहेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनको रकम मन्दिरमा खर्च भएको भन्दै आलोचना हुँदै आएका बेला जंगल क्षेत्रमा भ्यू–टावर निर्माणका लागि बजेट विनियोजन गरिएको हो। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षका भ्यू–टावरका योजना पूर्ण कार्यान्वयन नगरेका बेला आगामी आर्थिक वर्षका लागि योजनाको संख्या थप गरिएको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले प्रदेश सरकारले भ्यू–टावरका योजना थप भएका बताए। उनले भने, “आगामी आर्थिक वर्षको कार्यक्रम हेर्न पाएको छैन्। तर भ्यू–टावरका कार्यक्रम थप भएका सुनेको छुँ।”
सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीको बुढीतोला, कम्पासे धुरा र मोहन्यालमा भ्यू–टावर निर्माण गर्दैछ। तर भ्यू–टावर निर्माणको काम पूर्ण भएको छैन। क्रमागत योजनामा रहेको बुढीतोलाका लागि १० लाख, कम्पासेधुराका लागि १५ लाख, मोहन्यालका लागि १५ लाख बजेट विनियोजन गरिएको छ। कैलालीको सत्ती–कर्णाली सामुदायिक वनमा ७ लाख र गौरीगंगाको त्रिवेणी ताल परिसरमा भ्यू–टावर निर्माणका लागि १० लाख विनियोजन गरिएको छ।
पर्यापर्यटनका लागि संरचना निर्माण गर्न सकिने भएपनि सिमेन्ट–सरीयाका भौतिक संरचना भने निर्माण गर्न पाइदैन। वन क्षेत्रलाई नोक्सानी गर्ने गरी संरचना निर्माण गर्न नुहुने सामुदायिक वन उपभोक्ता महासंगकी अध्यक्ष भारती पाठकले बताइन्। उनले भनिन्, “पर्यापर्यटकका लागि भन्दै सामान्य काठको भ्यू–टावर जंगल क्षेत्रमा निर्माण गर्न सकिन्छ। तर ठुला–ठुला संरचना निर्माण गर्दा जंगल नोक्सानी हुन्छ। त्यो हुनु हुदैन।”
जंगल क्षेत्रमा निर्माण गरिने भ्यू–टावरबाट आर्थिक लाभ लिन सकिने अवस्था छैन। त्यसैगरी सामुदायिक वनको कार्ययोजनामा समावेश नगरिएको संरचना वन क्षेत्रमा निर्माण गर्न पाइदैन। जंगलमा काठको भ्यू–टावर निर्माण गर्न सकिने भएपनि प्रदेश सरकारले सरिया–सिमेन्टको भ्यू–टावर निर्माण गर्दैछ। सिमेन्ट–सरियाबाट निर्माण गरिएको भ्यू–टावर वातावरण मैत्री नहुने वनका जानकारहरु बताउँछन्।
भ्यू–टावर निर्माण गर्दा जंगलमा सडक समेत आवश्यक हुने भएकाले वन नोक्सानी हुने देखिन्छ। जंगल क्षेत्रमा भ्यू–टावर निर्माणका योजना कार्यान्वयनमा समेत चुनौति हुने पर्यटन इकाईका प्रमुख पाठकले बताए। उनले भने, “जंगल क्षेत्रमा भ्यू–टावर निर्माणका लागि सामुदायिक वनले समेत कार्यविधिमा राख्नु पर्ने बताए। सामुदायिक वनले जंगलमा भ्यू–टावर निर्माण गर्न सकिने छ भनेको भए, सहज हुन्छ। नत्र कानूनी रुपमा सकिदैन। राष्ट्रिय वनहरुमा समेत भ्यू–टावर निर्माण गर्न सकिदैन।”
संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरु वन क्षेत्रमा गैर कानूनी रुपमा भौतिक संरचना निर्माणका योजानाहरु विनियोजन गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश सरकार समेत वन क्षेत्रलाई अतिक्रमण गर्दै भ्यू–टावरका योजना कार्यान्वयका लागि बजेट विनियोजन गर्दैछ। जंगलमा निर्माण भएको भ्यू–टावरसम्म जान सडकसमेत आवश्यक हुने भएकाले जंगल नोक्सानी हुने पक्का छ।
कैलालीको बुढीतोलामा भ्यू टावर निर्माणको कार्य तीन महिनादेखि ठप्प